प्रेम फक्रेको कोपिलामा दर्शकको गाली, प्रियंकालाई नो मतलब !
आइतबार फिल्म ‘कथा काठमाडौं’को प्रचारात्मक पहिलो चल सामग्री आउट गरियो । निर्माण टिमले एक कार्यक्रम गरेर फिल्ममा समावेश ‘रातको कुरा’ बोलको गीत रिलिज गर्यो । गीत रिलिजपछि चर्चा जति भयो त्यो भन्दा बढि यो गीतले आलोचना खेपेको छ ।
फिल्ममा समावेश लिड हिरोइन प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीबीचको इन्टिमेट दृश्यले यतिबेला सामाजिक सञ्जालमा ब्यापक चर्चा पाइरहेको छ । अधिकांश कमेन्ट आलोचित छन् । केहि दिन पहिले मात्रै यहि फिल्मका लिड अभिनेता तथा प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी प्रियंकाले फिल्ममा दिएको निकै नै बोल्ड अनि कामुक दृश्यलाई दर्शकले अपाच्य बोलेका छन् ।
प्रियंका यतिबेला अमेरिका भ्रमणमा छिन् । गीत रिलिजमा त उपस्थित हुने कुरा भएन, उता काठमाडौंमै भएका अयुष्मान पनि प्रियंकाको त्यो कामुक दृश्य हेर्न आँट गरेनन् क्यारे कार्यक्रममा उपस्थित भएनन् । संयोग त के थियो भने प्रेमलाई इन्गेजमेन्टसम्म पुर्याएका प्रियंका र आयुष्मानको प्रेमको पहिलो कोपिला यहि फिल्मको सुटिङबाट फक्रेको थियो ।
अर्को तर्फ चर्चा र आलोचनाले प्रियंकालाई छोएन क्यारे कि त उनले यो सबै हेरेकै छैनन् ! सामाजिक सञ्जालमा निकै सकृय हुने प्रियंकाले उक्त गीत सेयर गरेकी सम्म छैनन् नत कुनै प्रतिक्रिया जनाएकी छिन् । ‘डे टु डे’ अपडेट हुने प्रियंकाको फ्यान पेज जुलाइ १६ यता अपडेट छैन ।
सानो-सानो कुरामा पनि तर्क गर्न र कमेन्ट गर्न माहिर मानिने प्रियंका ‘तै चुप मै चुप’ हुँदा उनले यो सबै कुरालाई ‘नो मतलब’ सोचेकी त होइनन् ! संगीता श्रेष्ठ निर्देशित फिल्ममा सन्ध्या केसी र सञ्जोग कोइराला पनि लिड रोलमा छन् ।