Logo

फिल्म प्रचार गर्न केबलकार चढे विनय र सृष्टि !

राजधानी नजिक रहेको पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर ‘रोमियो एण्ड मुना’ टिमले फिल्मको प्रोमोशन गरेको छ । रोमियो उर्फ विनय श्रेष्ठ र मुना उर्फ सृष्टि श्रेष्ठले शनिबार केबलकार चढेर चन्द्रागिरी पुगी फिल्मको प्रमोशन गरे ।

विनय र सृष्टिको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीलाई स्थानिय मेयर घनश्याम गिरीले स्वागत गरेका थिए । मेयर गिरीले चन्द्रागिरी नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए । उनले चाँडै नै चन्द्रागिरीमा फिल्म हल बनाइने समेत आश्वासन दिए ।

‘रोमियो एण्ड मुना’ टिम भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँ पुगेर टिमले छोटो प्रेसमिट गर्यो । प्रेसमिटमा टिमले साउन ११ गते रिलिज हुने फिल्मको बारेमा जानकारी गराए, विनय र सृष्टिले आफ्नो लागि रोमियो एण्ड मुना विशेष रहेको बताए । स्थानिय दर्शकसँग फिल्मबारे अन्तरक्रिया पनि गरे ।

‘डाइङ क्यान्डल’ बाट प्रशंसा पाएका निर्देशक केसीले रोमियो एण्ड मुना पनि मिहेनत गरेर बनाएको बताए । पहिलो पटक फिल्म बनाएका निर्माता गोपालीले फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने आशा राखे ।

प्रदर्शन मिति नजिकिएसँगै टिमले फिल्मको प्रचारलाई तिव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए । हामी राजधानी बाहिर गएर पनि फिल्मको प्रमोशन गर्छौं, निर्माता गोपालीले भने ।

Comments