मिस्टर ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै प्रकाश शाह
‘म्यान हन्ट २०१७ का फर्स्ट रनरअप तथा ‘मस्ट स्टाइलिस’ टाइटल विनर प्रकाश शाह मिस्टर ग्लोबल वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न तयार छन् । यहि जुलाई २१ तारिखमा थाइल्याण्डको बैङ्ककमा हुन लागेको ‘मिस्टर ग्लोबल वर्ल्ड २०१८’मा प्रकाशले समग्र नेपाली ‘ह्याण्डसम ब्वाइज’ हरुको प्रतिनिधित्व गर्ने भएका हुन् ।
‘मिस्टर ग्लोबल २०१८’मा विभिन्न ४० बढि देशले सहभागीता जनाउँदै छन् । थाइल्याण्डमा पाँचौ इडिसनको रुपमा हुन लागेको यो प्रतियोगितालाई ‘वर्ल्डक्लास इन्टरटेन्मेन्ट’ बनाउने लक्ष्य आयोजकले लिएको छ, ‘आयोजक संस्था मिस्टर ग्लोबल कर्पोरेसन लिमिटेडका तर्फबाट म्यानेजर किट्टी काम्जुंसाले अफिसियिल वेभसाइटमा भनेका छन् ।
२०१४ बाट सुरु भएको मिस्टर ग्लोबलमा यसअघि चार देश (म्यानमार, भियतनाम, चेक रिपब्लिक र ब्राजिल)ले उपाधि सुरक्षित गरेका थिए । नेपालको प्रतिनिधित्व भने यो दोश्रो हो । प्रकाश शाह भने नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै यहि बिहिबार अर्थात जुलाइ १२ मा थाइल्याण्ड प्रस्थान गर्दैछन् ।
मोडलिङ, र्याम्प तथा कलाकारिता क्षेत्रमा एकसाथ अगाडी बढिरहेका शाहले गिनिज वर्ल्ड रेकर्डमा ‘वान सट, वान टेक’ फिल्मको रुपमा नाम लेखाउन अघि बढिरहेको ‘जालो’ र ‘जालो रिटर्न्स’मा मुख्य भुमिका निभाएका छन् भने ‘ज्याकपट’ र ‘आर्या’मा पनि अभिनय गरिसकेका छन् । ‘जालो’ प्रदर्शन भइसक्दा शाहका अन्य फिल्म रिलिज हुन बाँकी छन् ।