निर्देशनमा करणको डेब्यू, ‘ल्याङ्ग ल्याङ्ग’ अफिसियल घोषणा
कमेडी तथा सामाजिक परिवेशलाई उठान गर्दै फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा गरियो । निर्माता, कलाकार तथा वितरक समेत बनिसकेका करण श्रेष्ठले फिल्मलाई निर्दशन गर्नेछन् । यो फिल्म उनको निर्देशकिय डेब्यू हुनेछ ।
फिल्म क्षेत्रको लामो समयको अनुभवलाई संगाल्दै निर्देशनमा पाइला बढाएको करणले बताए । रिच इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई करणले नै निर्माण गर्न लागेका हुन्। फिल्मको प्रस्तुतकर्ता करणकी माता अमृतमाया श्रेष्ठ छिन् । फिल्ममा टंक बुढाथोकीको संगीत रहनेछ ।
‘ल्याङ्ग ल्याङ्ग’को कथा सोमकुस्कु माझीको हो । उनले फिल्मले कमेडी पाटोसँग समाजसँग जोडिने एक ट्याक्सी ड्राइभरको कहानीसम्म फिल्ममा जोडिने बताए । पटकथा तथा संवाद भने प्रदिपकुमार चौधरीले लेखेका छन् । फिल्ममा कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेको रहनेछ ।
फिल्ममा नाजिर हुसेन, सुष्मिता बुर्लाकोटी, बुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोलाराज सापकोटा, कमलमणि नेपाल, राजन खतिवडा, सरीता गिरी, देवीराम पराजुली, किशोर भण्डारी, शिवहरि पौडेल, दमन रुपाखेती, जीवन भट्टराईले लगायतको अभिनय रहनेछ । मुख्य भुमिकामा रहने अभिनेत्रीको नाम गोप्य राखिएको निर्माता, निर्देशक करणले बताए ।
भदौ अन्तिम साताबाट फ्लोरमा जाने यो फिल्मलाई नेपालसँगै अष्ट्रेलिया र बहराइनमा छायांकन गरिने निर्माण टिमले बताएको छ । फिल्ममा शंकर पाण्डे प्रोडक्सन हेड छन् ।