पर्दामा फर्किँदै ‘प्रेमगीत २’ हिरोइन अश्लेषाः ‘मेरी मामु’ कि लिड गर्ल ?
बर्ष २०७४ को सफल फिल्म ‘प्रेमगीत २’ बाट डेब्यू गरेकी अश्लेषा शाही ठकुरी त्यसयता पर्दामा देखिएकी छैनन् । भन्नेहरुले त अश्लेशालाई ‘प्रेमगीत २’ नै पहिलो र अन्तिम फिल्मसम्म भने । अब भने अश्लेषा पर्दामा पुनरागमन गर्ने पक्कापक्की जस्तै भएको छ ।
श्रोतका अनुसार अश्लेषाले प्रेमगीत कै निर्माता सन्तोष सेनको निर्माणमा बन्न लागेको फिल्म ‘मेरी मामु’मा मुख्य भुमिका निभाउँदै छिन् । असारबाट फ्लोरमा जाने फिल्मको यतिबेला राजधानीमा वर्कसप चलिरहेको छ । जहाँ अश्लेषाले स्कृप्टले मागे अनुसारको अभिनयमा निखारता ल्याउन दिलो ज्यान दिएर लागेकी छिन् ।
गत बर्षको श्रावणमा रिलिज भएको फिल्म ‘प्रेमगीत २’ ले वक्सअफिसमा सफल फिल्मको सुचीमा नाम लेखायो । तर फिल्म चल्दैगर्दा अभिनेता प्रदिप खड्काले चर्चा र तारिफ पाए, अश्लेषा ओझेलमा नै परिरहिन् । अश्लेषा ओझेलमै परेको कारण यो पटक भने निर्माता सेनले उनलाई अघि सार्दै मुख्य भुमिका दिएर नारीप्रधान फिल्म नै निर्माण गर्न लागेका छन् ।
‘मेरी मामु’मा लिड अभिनयमा सन्तोषकै ६ बर्षिय छोरा अयुव सेन रहनेछन् भने उनको आमाको भुमिका अश्लेषाले निभाउँदै गरेको श्रोत बताउँछ । तर केहि दिन पहिले राजधानी मै आयोजित एक कार्यक्रममा फिल्मीनेपालसँगको अनौपचारिक वार्तालापमा निर्माता सेनले अहिलेलाई अयुव मात्रै फाइनल भएको भन्दै अन्य कलाकारको नाम खुलाउन आनाकानी गरेका थिए ।
फिल्मको कथाले वर्षातको समयको दृश्य मागेकै कारण असार श्रावण महिनामा मात्र फ्लोरमा जाने तयारीका साथ निर्माण ब्यानर आशुसेन फिल्मस् यतिबेला वर्कसपमा जुटिरहेको छ । यम थापाले आफ्नै कथामा निर्देशन गर्ने फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’को बारेमा भने निर्माण टिमले केहि खुलाएको छैन ।