Logo

प्रतिभा छान्दै गौरी र सुनिल थापा, बिजेतालाई २१ लाख पुरस्कार

काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकाएसँगै ‘मेची महाकाली ट्यालेन्ट’को काठमाडौं अडिसन यही शनिबार हुने भएको छ ।

यसअघि यो रियालिटी शोको अडिसन विर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा भइसकेको छ । काठमाडौं अडिसन यहि शनिबार मिनभवन स्थित एभरेष्ट फिल्म एकेडेमीमा बिहान १० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी आयोजकले काठमाडौं अडिसनका लागी निकै उत्साहित रहेको बताएका छन् । विभिन्न फरक प्रतिभाहरुलाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकको तर्फबाट देब मगरले बताए ।

यो रियालिटी शोमा जजको रुपमा सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । यस रियालिटी शोमा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउने छन् ।

ग्रेड वान मिडिया प्राइभेट लिमिटेडले आयोजना गरेको रियालिटी शोमा विजेताले २१ लाख नगद उपहार पाउनेछन् । प्रतियोगितामा गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।

Comments