Logo

नम्रता र विपिनको ‘प्रसाद’मा निश्चलको इन्ट्री

नम्रता श्रेष्ठ र विपिन कार्की लिड रोलमा रहने गरि फ्लोरमा जाने तयारी गरिरहेको फिल्म ‘प्रसाद’मा अभिनेता तथा निर्देशक निश्चल बस्नेतको इन्ट्री भएको छ । हालै निर्माण टिमले निश्चल लिड अभिनयमा रहने गरी अनुबन्ध भएको खबर बाहिर ल्याएको हो ।

निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म दिनेश राउतको निर्देशनमा बन्दैछ । निर्माण पक्षले जनाए अनुसार चुनौतीपूर्ण र पृथक भुमिकाका लागि निश्चललाई लिइएको हो । ‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो’ निर्देशक राउतले भने, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’

निर्माता सुभाष थापाले मंगलबार निश्चलसँग सम्झौता गरेका छन् । निर्माता थापाका अनुसार निर्देशक राउतले स्क्रिप्ट अनुसार निश्चल नै हुनुपर्ने बताएपछि अनुबन्ध भएका हुन् ।

असार १ देखि छायांकनमा जाने तयारीमा रहेको प्रसादलाई सुशील पौडेलले लेखेका हुन् । सुभाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’लाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ ।

‘प्रसाद’ युनिटले केहि दिन पहिले मनकामना मन्दिरमा पुगेर सफलताको कामना सहित स्कृप्ट पूजा गरेको थियो ।

Comments