‘हैरान’: सौगातलाई साख जोगाउने चुनौती
भोली अर्थात शुक्रबारबाट फिल्म ‘हैरान’ रिलिजको लागी तयार छ । निर्माता संघको आन्दोलनको चर्चा परिचर्चाका बीच अन्य फिल्मले रिलिज धकेल्दा ‘हैरान’ले सोलो रिलिजको मौका पाएको छ । आधा सय बढि पर्दामा एकसाथ प्रदर्शनमा आउने फिल्म विश्वका कान्छा निर्देशक सौगात विष्टको लागी चुनौती र पहाड दुबै बन्नेछ ।
पहिलो फिल्म ‘लभ यू बाबा’ले मिश्रित प्रतिक्रिया पायो । त्यसपछि केहि बर्षको विश्राममा सौगात दोश्रो फिल्म मार्फत आएका हुन् । पहिलो फिल्म रिलिजको बेला बनेको चर्चा तथा परिचर्चा तुलनात्मक रुपमा यो पटक कम छ । यद्धपी दर्शकले नजिकबाट चिनेका केहि अनुहारहरु जोडिनुको फाइदा ‘हैरान’ले उठाउनसक्छ ।
फिल्मलाई लिएर नेपाली टेलि सिरियलमा पछिल्लो क्रममा सर्वाधिक चर्चित अनुहार मध्येका एक सागर लम्साल ‘बले’ दिलोज्यान दिएर प्रचारमा छन् । सँगसँगै फिल्ममा चर्चित गाएर सत्यराज आचार्य पनि जोडिएका छन् भने अभिनेता सरोज खनाल, बुद्धि तामाङ र सौगात पीता अभिनेता गजित बिष्ट पनि सँगसँगै छन् । यी सबै कलाकार यतिबेला फिल्मको प्रचारमा राम्रैसँग दौडिरहेका छन् ।
अर्कोतर्फ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउँदै गर्दा धेरैले सौगातको काममा शंका पनि गरे । संसारले पत्याउँदा नेपालमा नै उनको काममा धेरैको शंका उपशंका उब्जिँदा यो पटक त्यसलाई चिर्ने अबसर पनि सौगातलाई छ । उमेरको हिसाबले होस या अनुभवको हिसाबले केहि बर्षान्तरमा फिल्म आउँदा सौगातले यो बीचमा जानेबुझेको ज्ञान पक्का पनि ‘हैरान’मा खर्चेका हुनपर्छ । जुन कुराले उनलाई निर्देशकको रुपमा ‘फुल अन’ प्रमाणित गर्न अनि आफ्नो साखलाई जोगाउन र बलियो बनाउँदै लैजानको लागी अबसर दिएको छ ।
फिल्म मार्फत अभिनेत्रीको रुपमा आरोही शर्माले डेब्यू गर्दैछिन् भने गजित निश्मा घिमिरे पनि लिड अभिनयमा छिन् । सौगातको होम प्रोडक्सनको फिल्ममा सम्झना पोखरेल कार्यकारी निर्माता छिन् । फिल्मको गीत संगीत तथा ट्रेलरले बनाएको छाप मध्यम छ । तर पनि कन्टेन्ट बलियो हुँदै गर्दा दर्शकको ‘वर्ड अफ माउथ’ फिल्मप्रति बढ्नेछ । अर्कोतर्फ रिलिजको दिन फिल्मप्रति दर्शकको फ्लो कस्तो रहन्छ त्यसले पनि उनको सफलतालाई मापलन गर्नेछ ।