Logo

‘धनपति’पछि पुनः खगेन्द्र – सुरक्षा टिमअप, ‘गोपी’ औपचारिक घोषणा

गत बर्ष रिलिज फिल्म ‘धनपति’मा जोडी बाँधेका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तलाई दर्शकले पुनः एकसाथ देख्न पाउने भएका छन् । उक्त फिल्मला पति पत्निको रुपमा पर्दामा आएको यो जोडीलाई लिएर फिल्म ‘गोपी’ निर्माण घोषणा भयो । फिल्ममा खगेन्द्र र सुरक्षा एकसाथ अन स्कृन रोमान्समा देखिनेछन् ।

‘घामपानी’ निर्देशक दिपेन्द्र लामाको एक्सन कट रहने फिल्ममा उल्लेखित दुईसँगै अंकित खड्का, प्रकाश घिमिरे लिड अभिनयमा रहने फाइनल हुँदा अन्य कलाकारको टुंगो लाग्न बाँकी रहेको कार्यकारी निर्माता श्रीधर पौडेलले बताए । फिल्मको कथा तथा पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् । शैलेन्द्र डि. कार्कीले फिल्म खिच्नेछन् ।

‘बधशाला’बाट अभिनयमा डेब्यु गरेका खगेन्द्र लामिछानेले त्यसयताका सबै फिल्ममा अभिनेतासँगै लेखकको पनि भूमिका निर्वाह गरेका छन् । आफूले लेखेबाहेकका फिल्ममा नदेखिने आरोप खेप्दै आएका खगेन्द्रले चित्त बुझ्दो स्क्रिृप्ट नपाएकाले आफैंले लेखेका फिल्ममा मात्र देखिँदै आएको बताए । ‘गोपीले यो क्रम भंग गरेको छ । यसमा म विशुद्ध अभिनेताको भूमिकामा मात्र देखिनेछु । राम्रो स्क्रिृप्ट पाएँ भने अरुको लेखनमा पनि खेल्न कुनै समस्या छैन । गोपी यसैको प्रमाण हो,’खगेन्द्रले भने ।

फिल्मलाई आरोही इन्टरटेनमेन्टको ब्यानरमा मणिकर्ण केसीले निर्माण गर्न लागेका हुन् । फरक व्यवसायमा जमेका केसीले नेपाली फिल्म उद्योगलाई सच्चा उद्योगको रुपमा विकसित गर्नका लागि थोरै भए पनि होस्टे गर्ने उद्देश्यले फिल्म निर्माणमा आएको बताए । उनले भने, ‘नेपाली फिल्म उद्योग तिव्र विकासको चरणमा छ । यो उद्योग बनोस् भन्ने मेरो चाहना हो । गोपीको निर्माण यसैको पहिलो खुड्किलो हो ।’

पटकथाकार तिमिल्सेनाले खगेन्द्रको आगमनले फिल्मको पटकथा थप बलियो हुने बताए । ‘फिल्ममा तीन लेखक जम्मा भएका छौं, मैले यसलाई दबाबको रुपमा भन्दा पनि स्ट्रेन्थको रुपमा लिएको छु । एउटा स्तरीय सिनेमा दिने हाम्रो टिमको प्रयास रहनेछ,’ उनले भने । निमेष श्रेष्ठले सम्पादन गर्ने फिल्म आगामी भदौ १ गतेबाट फ्लोरमा जाने निर्माण युनिटले जानकारी गराएको छ ।

तश्विरः विनोद पोखरेल

Comments