Logo

प्रतिभा खोज्दै ‘हैरान’ टिम, उत्कृष्ट १५ जनालाई नगद पुरस्कार घोषणा

फिल्म ‘हैरान’ ले प्रतिभाको खोजी गर्दै देश दौडाहा सुरु गर्ने भएको छ । हैरान च्यालेन्ज नाम दिँदै फिल्म निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्न काठमाडौं सहित मोफसल यात्रा थालनी गर्ने भएको हो ।

नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजी अन्तर्गत वैशाख २० गते झापाबाट अडिसन सुरु हुनेछ । प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न लागिएको निर्माण पक्षले जनाएको छ । २० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ ।

अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २/२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ ।

प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् । जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा निरज कडेलको छायाँकन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन छ ।

अनलाईन मार्फत फारम भर्न यहाँ क्लिक गर्नुहोस्

Comments