सृष्टिसँग आर्यनको प्रेमः ‘बाँध मायाले’ रिलिज घोषणा
पुर्व ‘मिस नेपाल’ अभिनेत्री सृष्टि श्रेष्ठ पहिलो फिल्म ‘गाजलु’बाट सर्वाधिक चर्चामा आइन् । उनको अभिनयको चौतर्फी तारिफ मात्रै भएन गत बर्ष सम्पन्न विभिन्न अवार्डमा नव अभिनेत्रीतर्फ एकछत्र राज पनि उनले नै गरिन् । तर उनै सृष्टि ‘गाजलु’पछि अहिलेसम्म पर्दामा देखिएकी छैनन् । अब भने सृष्टिलाई पर्दामा देख्न पर्खिनेहरुको घडि समाप्त हुनेभएको छ ।
सृष्टिले पछिल्लो पटक अभिनेता आर्यन अधिकारीसँग अनस्कृन रोमान्स गरेको फिल्म ‘बाँध मायाले’ रिलिजको लागी तयार भएको छ । प्राप्त जानकारी अनुसार यो फिल्म आउँदो असोज ५ बाट दर्शकमाझ आउने भएको छ । निर्माण टिमले सोमबार मात्रै फिल्मको प्रदर्शन मिति तय गरेको हो ।
सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म हाल डबिङको क्रममा छ । निर्देशक श्रेष्ठले नाम जस्तै फिल्मले पनि दर्शकलाई पनि हलमा लाग्दा कथा वरीपरी बाँधिराख्ने विश्वास पोखे । काईट्स ईन्टरटेनमेन्टको ब्यानरमा तयार भएको फिल्म निर्माणमा रामहरी धिताल र विभेषिका श्रेष्ठले निर्देशक श्रेष्ठसँग साझेदारी गरेका छन् ।
फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड लिड रोलमा छन् भने नव अभिनेता किशोर खड्काले यो फिल्ममार्फत डेब्यू गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत छ । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।