मोफसल प्रचारबाट ‘डमरूको डण्डीबियो’ले के पायो ?
बैशाख २१ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डमरूको डण्डीबियो’ टिम गत हप्ताभर मोफसल प्रचारका व्यस्त रह्यो । फिल्मको बारेमा जानकारी दिँदै, रिलिज मिति याद गराउँदै अनि दर्शकलाई आकर्षण गर्दै फिल्म निर्माण टिम पुर्वदेखि पश्चिम पुग्यो । स्थानिय दर्शकको प्रतिक्रिया लिँदै अब भने फिल्म युनिट राजधानी फिरेको छ ।
स्कृप्ट लेखनको लामो समयको अनुभवलाई प्रयोग गर्दै पहिलो पटक निर्देशनमा हात हालेका छेतेन गुरुङ फिल्मलाई मोफसलका दर्शकले देखाएको माया र रिलिजलाई लिएर पाएको उत्साहबाट प्रफुल्लित सुनिए । आफु उपस्थित हुन नसकेका गुरुङ निर्माण टिमले राजधानीसम्म बोकेर फर्केको दर्शकको मायाप्रति आभारी देखिए ।
यस्तै लिड अभिनेता खगेन्द्र लामिछानेले पनि दर्शक प्रतिक्रियाबाट उत्साहित बताएका छन् । फिल्म टिमले अब भने राजधानी केन्द्रित प्रचारमा लाग्ने उद्घोष गरेको छ । स्पोर्ट्स जनराको फिल्मले मुख्यतः राष्ट्रिय खेलबाट हटाइसक्दा पनि डण्डीबियो खेलको महत्वलाई जीवित राख्न र यसको संरक्षणमा जुट्ने अभियान स्वरुप फिल्मलाई लिएको छ ।
फिल्ममा खगेन्द्रसँगै मेनुका प्रधान, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, अनुप बराल, मिश्री थापा, बुद्धि तामाङ लिड रोलमा छन् । सम्वृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई बिनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त लगानीमा निर्माण गरेको हो । फिल्म एकै मितिमा नेपालसँगै अष्ट्रेलियामा पनि प्रदर्शन हुने निर्माण टिमले बताएको छ ।