नयाँ बर्षमा बाहिरियो दीपक र रिक्कीको ‘मनमगन’ (भिडियो)
गायक दीपक बज्राचार्य हरेकपटक केहि नयाँ प्रयोग गर्न चाहन्छन् । अझ भनौँ पछिल्लो समय त दीपकले परम्परागत नेवारी कल्चरलाई विशेष प्राथमिकता दिँदै आफ्नै समुदायको रितिस्थिती र भेषभुषा झल्किने प्रकारका गीत संगीत पस्किँदै आएका छन् । यो बीचमा दीपक र उनको टिमको तर्फबाट नयाँ बर्ष २०७५ को दिन नयाँ गीत सार्वजनिक भएको छ ।
पछिल्लो पटक सार्वजनिक गीतमा पनि दीपकले सोहि प्रकारको प्रयोग गर्ने प्रयास गरेका छन् । रिक्की शाक्यको शब्दहरु लोक फ्लेभरमा नेवारी झाँकी र जात्रा केन्द्रित हुँदा त्यसमा संगीत पनि रिक्कीले नै भरेका छन् । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियो हेर्दा दीपकको स्वर समावेश गीतले बोल्ने शब्द सुहाउँदो निर्देशन भेट्न सकिन्छ ।
मुख्यतः काठमाडौँका रैथाने मानिने नेवारी समुदायको स्थानिय कला संस्कृतिलाई भिडियोमा झल्काईएको छ । ज्यापु समाजको तर्फबाट उपस्थित दर्जनबढि कलाकारहरुले भिडियोमा आफ्नो जिम्मेबारी सहितको उपस्थिती जनाएका छन् । गीतमा समावेश शब्दहरु झट्ट मनमा बस्ने प्रकारमा हुँदा रिलिजको दुई दिनमा नै यो गीतको भिडियो नेपाली युट्युव ट्रेण्डिङको शिर्ष स्थान उन्मुख छ ।
‘रिदम’ ब्याण्डको तर्फबाट एरेञ्ज भएको ‘मनमगन’ बोलको सार्वजनिक गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने क्यामेरा अनिल मान्नधरले चलाएका छन् । अडियो मिक्सिङको काम फिरोज बज्राचार्यले गरेका छन् ।