नयाँ बर्षमा बम्पर ‘लिलिबिली’, यस्तो छ २ दिने कलेक्सन (बक्सअफिस)
नयाँ बर्षको छेकोमा प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ले बम्पर ओपनिङ गर्यो । नयाँ बर्षसँगै बिदाको दिन शनिबार फिल्म हेर्न देशभर दर्शक उर्लिए । स्टार अभिनेता प्रदिप खड्काको क्रेज अनि नव नायिका जसिता गुरुङको अभिनय यतिबेला चर्चाको विषय बनिरहेको छ ।
फिल्म शनिबार प्रदर्शनरत देशभरका सबैजसो हलमा हाउसफुल रह्यो । राजधानीका मल्टिप्लेक्सदेखि सिंगल स्कृन सबैतिर फिल्म हेर्न दिनभर पर्खेका पर्खेका कतिपय दर्शक अन्तिम समयसम्म पनि टिकट नपाएर फर्केका थिए । देशभर हाउसफूल बिजनेस हुँदा निर्माण टिमले उत्साहित बताएको छ । राजधानीका केहि हलमा निर्माण टिम कलाकारसँगै पुग्यो र दर्शकसँग नजिकबाट साक्षत गर्यो ।
राजधानीको गोपिकृष्ण हलमा शनिबार दिउँसो पुग्दा प्रदिप र जसिता फ्यान तथा दर्शकबाट घेरिएका थिए । दर्शकबाट छुटाउन हम्मे हम्मे परेको दृश्य यतिबेला मिडिया तथा सोसियल मिडियामा ट्रेण्डिङमा छ । फिल्म प्रति दर्शकको क्रेजले प्रदिपको स्टारडम प्रमाणित भएको चर्चा सुरु भएको छ । हलमा मिडियाकर्मी पुग्दा कतिपय दर्शक फिल्म हेर्न पाइयोस् नपाइयोस्, तर प्रदिपलाई देख्न र भेट्न मन छ भन्ने प्रकारका समेत भेटिँदा नै प्रदिपको क्रेज कति छ भन्ने प्रमाणित हुन्छ ।
यसैबीच प्रदर्शनको पहिलो दुई दिनमा फिल्मले २ करोड माथीको बिजनेस गरेको दाबी निर्माता गोविन्द शाहीले गरेका छन् । वितरक समेत रहेका शाहीले फिल्मले पहिलो दिन ८२ लाख र दोश्रो दिन कुल १ करोड ३५ लाख माथिको बिजनेस गरेको बताए । मिलन चाम्स निर्देशित फिल्म हेरेर फर्किने अधिकांश दर्शकले जसिताको अभिनयलाई खास तारिफ गरेका छन् ।
गोविन्द शाहिसँगै सुदिप खड्काको लगानीमा निर्माण भएको फिल्मलाई पुर्णतः युरोपमा छायाँकन गरिएको छ । फिल्ममा प्रदिप र जसितासँगै प्रियंका कार्की, अनुपबिक्रम शाहि, सविन श्रेष्ठ, ध्रुबदत्त लगायत लिड अभिनयमा छन् ।