‘लिलिबिली’ चल्नै पर्ने तीन कारण (विश्लेषण)
भोली अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’को चर्चा पछिल्लो महिना दिनदेखि चुलिँदो छ । मिडियादेखि सामाजिक सञ्जालमा यतिबेला कुनै फिल्म छाइरहेको छ भने त्यो पहिलो फिल्म हो ‘लिलिबिली’ । पछिल्लो पुस्ताका स्टार उपमा पाएका अभिनेता प्रदिप खड्का यो क्रेज बन्नुको पछाडि पहिलो हतियार हुन् ।
रिलिजको छेकोमा फिल्मलाई लिएर प्रदिपका फ्यान तथा शुभचिन्तकहरु उत्साहित हुनु स्वभाविक होला, तर हरेक पटक नेपाली फिल्मको बिजनेसमा कोशेढुङ्गा बन्दै आएको नयाँ बर्षले यो फिल्मलाई कति प्लस गर्छ त्यो मुख्य पाटो यो फिल्मको बन्नसक्छ । फिल्मलाई राजधानी सहित मोफसलका मल्टिप्लेक्सहरुमा खास प्राथमिकतामा राख्नु, सिंगल स्कृनमा पनि सोहि प्रकारको शोजहरु कन्फर्म हुनुले निर्माण टिमलाई खुशी थपेको दुई मत छैन् ।
यहाँ जान्नुहोस्, ‘लिलिबिली’ चल्नै पर्ने तीन कारणः
प्रदिप खड्काः
प्रदिप खड्का यतिबेला युवा स्टारको रुपमा ब्राण्ड बनिसकेको नाम हो । पछिल्लो पटक रिलिज उनि स्टारर दुई फिल्म (प्रेमगीत, प्रेमगीत २) नेपाली बक्सअफिसमा हिट सुचीमा छन् । त्यसैले यतिबेला उनले बक्सअफिसमा ह्याट्रिक गर्लान, नगर्लान प्रकारका चर्चा पनि मिडियाहरुमा भईरहेको छ । जसका कारण उनि जोडिएको फिल्म चल्नु र ह्याट्रिक गर्नको लागी मात्र नभई प्रदिपसँग जोडिने स्टारको ट्यागलाई थप मजबुद बनाउन र परिचय फराकिलो बनाउन पनि उनको लागी यो फिल्म चल्नैपर्छ ।
प्रेमगीत र यसको सिक्वेल सांगितक रुपमा जति सशक्त थिए, त्यो प्रकारको ‘हाईप’ ‘लिलिबिली’मा बनेको छैन् । त्यसैले पनि प्रदिपको स्टारडमको खास ‘जजमेन्ट’ यो फिल्मले गर्नेछ । मार्केट भ्याल्यू हाइ बनाउँदै अघि बढेका प्रदिपको यो फिल्मले कमालको ब्यापार गर्नसके उनका फ्यानहरु मात्र खुशी हुनेछैनन्, नेपाली फिल्म उधोगले अर्को स्ट्रोङ्ग स्टारडम बोकेको स्टार पाउनेछ । यो फिल्मले कमर्सियल रुपमा सफलता नपाउँदै गर्दा प्रदिपलाई प्रेमगीतको ब्राण्ड र त्यससँग जोडिएको सांगितिक पक्ष अनि ब्यानरको कारण मात्र हिट भन्ने आरोपहरु लाग्न सुरु हुनेमा फरक मत नहोला ।
जसिता गुरुङः
जसिताको लागी यो फिल्म डेब्यू हो । तर उनि यतिबेला नेपाली फिल्म उधोगको लागी आशाको केन्द्र बनिसकेकी छिन् । डेब्यू फिल्म त्यो पनि रिलिज नहुँदै गर्दा नै उनिसँग जोडिएर आएका कन्टेन्टहरुमा उनको नाम संभावनावान अभिनेत्रीको रुपमा आईसकेको छ । सुन्दरता मात्र होईन फिल्मको ट्रेलरमा नै जोडिएको अभिनयले उनले फिल्मका कमालको काम देखाएको हुनसक्ने आशा व्यक्त गर्ने धेरै छन् । त्यसैले पनि यो फिल्म चल्दै गर्दा स्टारको उपमा पाएका प्रदिपसँगै उदाएकी एक अभिनेत्रीले नेपाली फिल्म उधोगमा आशाको किरण छर्नेछिन् जसरी साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोल केसीसँग जोडिएर ‘ड्रिम्स’बाट छाप छोडिन् ।
अर्को तर्फ प्रदिपको छायाँमा जसिता पर्नसक्ने अनुमान सहितका कन्टेन्टहरु पनि आईरहँदा जसिताले यो प्रकारको कुरालाई नकार्दै आएकी छिन् । उनले फिल्मको अभिनयलाई लिएर देखाएको कन्फिडेन्सले पनि उनको कामलाई लिएर आशा गर्ने ठाउँ छ ।
निर्देशक मिलन चाम्सः
चाम्सको निर्देशनमा बनेको पहिलो फिल्म ‘हँसिया’ले औसत ब्यापार गर्यो । दोश्रो फिल्मलाई दर्शकले साथ दिए ‘बीर बिक्रम’ले राम्रै विजनेस गर्यो । त्यसपछि उनले ‘ब्याक टु ब्याक’ निर्देशन गरे । यसअघि रिलिज ‘ब्लाईण्ड रक्स’ बक्सअफिसमा असफल बन्यो, ‘लिलिबिली’पछि ‘हेप्पी डेइज’ र ‘बोबी’ रिलिज पाइपलाईनमा छन् । उनले स्थापित निर्देशकको छबि स्थापित गर्नको लागी यो फिल्म चल्नैपर्छ । नत्र भने निर्माता डुबाउने निर्देशकको ट्याग चाम्समा लाग्नेछ । यो फिल्म चलेन भने रिलिजको क्रममा रहेका अन्य फिल्म अनि उनले निर्माण घोषणा गरिसकेका ‘बीर बिक्रम २’ ‘सोलिडोली’ लगायतका प्रोजेक्टलाई लिएर पनि दर्शक र मिडियाले खास चासो दिन र आशा बोक्न छोड्नेछन् ।
अर्को तर्फ फिल्मले बोल्ने कन्टेन्ट, कथा, पटकथा, सिनेमाटोग्राफी, सम्पादन पनि फिल्मसँग जोडिएका खास पक्षहरु हुन् । यी सबै पक्ष सवल हुँदै गर्दा मात्र फिल्म सफल बन्नसक्छ । तर उल्लेखित कुराहरु भन्दा बाहिर आउने हो भन्ने फिल्मको हाइप र कलाकारको स्टारडमले फिल्मलाई इनिसियल बिजनेसमा खास प्रभाव पार्नेछ । इनिसियल बिजनेसमा सबैभन्दा बढि बिक्ने स्टारडम हो । त्यसैले शुक्रबार रिलिज हुने फिल्मले कस्तो सुरुवात गर्छ, नयाँ बर्षमा दर्शकको रोजाईमा यो फिल्म कति पर्छ पर्दैन त्यो सबै कुराको लागी केहि दिन पर्खिनुको बिकल्प हुनेछैन् । तर जे होस्, फिल्मको सफलता र असफलता नै माथी उल्लेखित पक्षहरुमा खास प्रभाव राख्ने कारक बन्नेछन् ।