डण्डीबियो बोकेर पोखरा पुगे खगेन्द्र
फिल्म ‘डमरूको डण्डीबियो’ले प्रचार प्रसार थालेको छ । निर्माण टिम फिल्मको बारेमा जानकारी दिन, कलाकार सहित बुधबार पोखरा पुग्यो । आयोजित कार्यक्रममा लिड अभिनेता तथा कथा लेखक खगेन्द्र लामिछानेले आफुले लेख्ने र खेल्ने फिल्म व्यवसायिकताका लागी मात्रै नभएको बताए ।
चलचित्र पत्रकार संद्य कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानले भने ‘मैले लेख्ने र खेल्ने फिल्म व्यवसायिकताको लागी मात्रै हुँदैन, यो बिषय गहन हो भन्ने लाग्यो भने म त्यो कथा लेख्छु चल्ने नचल्ने फरक पाटो हो ।’ डमरूको डण्डिबियोका बारेमा बोल्दै उनले गतबर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डीबियो खेललाई प्रमुख विषयवस्तु बनाएको भएता पनि फिल्ममा पारिवारिक कथा सँगै मायाप्रेम समेत देखाइएको बताए ।
कलाकार बुद्धि तामाङले फिल्मले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउने सँगै खेलको महत्व झल्काउने बताए । पर्यटन व्यवसायी समेत रहेका निर्माता विनोद गुरुङले बन्दै आएका अन्य नेपाली फिल्म भन्दा विल्कुल फरक स्वादमा फिल्म बनेको दाबी गरे ।
पोखराबाट औपचारिक रुपमा मोफसल प्रचार थालेको फिल्म टिम बुटवल , नारायणघाट , हेटौंडा, दमक हुँदै बिर्तामोड सम्म पुग्नेछ । यो फिल्ममा खगेन्द्र लामिछाने,वुद्धि तामाङका अलवा मेनुका प्रधान,अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इङ्गी होपू कोइञ्च सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ । संबृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । छेतेन गुरुङले निर्देशन गरेका हुन् ।
(पोखराबाट पत्रकार सुशन घिमिरेको सहयोगमा)