Logo

विपिनसँग नम्रताको बिहे पक्का, बाँझोपनको कथामा ‘प्रसाद’ घोषणा

पछिल्लो पटक ‘पर्व’ फिल्म रिलिजपछि केहि महिनाको अन्तर राखेर गुमनाम बनेकी अभिनेत्री नम्रता श्रेष्ठ नयाँ फिल्म मार्फत पर्दामा आउने भएकी छिन् । उनले पछिल्लो क्रमका चल्तिका कलाकार विपिन कार्कीसँग जोडी बाँध्ने पक्का भएको छ । फिल्म ‘प्रसाद’को सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा भयो ।

फिल्ममा नम्रता विपिनको पत्निको भुमिकामा हुनेछिन् । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानशिक द्वन्द्वसँगै सामाजिक मूल्य, मान्यता विरुद्ध मुल पात्रले गर्ने संघर्षको वरीपरी फिल्म घुम्नेछ । दिनेश राउतको निर्देशनमा बन्ने फिल्मको मुख्य निर्मातामा सुभाष थापा छन् ।

विपिन र नम्रतासँगै नविन मानन्धर लिड रोलमा रहने फिल्मको स्कृप्ट चलचित्र पत्रकार सुशिल पौडेलले लेखेका छन् । लामो समयको पत्रकारिताको अनुभवपछि पहिलो पटक ठुलोपर्दाको फिल्मको स्कृप्ट लेखेका पौडेलले कथामाथी लिड कलाकारको स्विकारोक्तिबाट उत्साहित भएको भन्दै उक्त कुरालाई पहिलो चरणको उपलब्धी बोले ।

बिबाहपछि बच्चा नहुने दम्पति (बाँझोपन)को जीवनमा कुन प्रकारको उतारचढाव आउँछ र त्यो अवस्था कहाँसम्म पुग्छ भन्ने कुरा नै मुख्य कथा रहेको पौडेलले बताए । निर्देशक राउतले फिल्मले रुवाउन र हँसाउन सक्ला नसक्ला तर फिल्म हेरेपछि केहि न केहि सोच्न बाध्य बनाउने दाबी गरे ।

अभिनेत्री नम्रताले राम्रो गर्ने प्रयास गर्ने र कथा एकदमै फरक रहेको भन्दै सबैको साथ सहयोग र सद्भावको अपेक्षा राखिन् । विपिनले लेखक सुशिलले कथा लेख्न सुरु गर्दा नै आफुलाई सुनाएको अवस्थामा मन छोएको भन्दै उत्कृष्ट कथामाथी फिल्म बन्न लागेको बताए ।

राजेश श्रेष्ठले खिच्ने फिल्म आउँदो बैशाखको अन्तिम साताबाट फ्लोरमा जाने बताइएको छ । फिल्मको एसोसियट निर्देशकमा विकास सुवेदी छन् । कोशिष क्षेत्री र सुवास भुषालको संगीत रहने फिल्ममा प्रोडक्सन डिजाइनर सुरज आचार्य र प्रोडक्सन म्यानेजर मनोज जोशी छन् ।

Comments