नीर शाहलाई दीर्घ साधना, लम्साल र सुवेदीलाई पत्रकारिता विशेष सम्मान
नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न सुरु गरेको फान अवार्डको दोश्रो संस्करणमा दीर्घ साघना सम्मान वरिष्ट चलचित्रकर्मी नीरबिक्रम शाहलाई प्रदान गरेको छ । राजधानीमा शुक्रबार आयोजित अवार्ड समारोहमा शाहलाई नगदी १ लाख ११ हजार एक सय ११ रुपैयाँ सहित, ताम्रपत्रले सम्मान गरिएको हो ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीबाट शाह सम्मानित भए । नेपाली चलचित्र उधोगमा शाहले पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको आयोजकले बताएको छ । शाहको सम्मानमा कार्यक्रम हलमा उपस्थित सबैले ‘स्टान्डिङ अबेसन’ दिएका थए ।
सम्मानपछि बोल्दै शाहले नेपाली फिल्मसँग हाड नाताको जस्तै सम्बन्धरहेको भन्दै मृत्युले मात्रै यो क्षेत्रसँग आफुलाई अलग गर्नसक्ने बताए । जीवन नै फिल्मसँग जोडिएको भन्दै बाँचुन्जेल फिल्म क्षेत्रसँग आफु टाढा हुन नसक्ने उनले बताए । आफुले सम्मान पाएकोमा भन्दा पनि चलचित्र कलाकार संघले यो प्रकारको सम्मानको थालनी गरेकोमा बढि खुशी लागेको उनको तर्क थियो ।
यसैबीच बर्ष २०७४ को चलचित्र पत्रकारिता विशेष सम्मान रंग पत्रकार द्वय ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई प्रदान गरिएको छ । दुई दशक लामो रंग पत्रकारिता र यो क्षेत्रसँग सँगै रहँदा लम्साल र सुवेदीले चलचित्र र यो क्षेत्रसँग जोडिएर दिएको योगदानको मुल्यांकनको आधारमा सम्मान गरिएको आयोजकले बताएको छ ।
२०५७ सालबाट पत्रकारिताको सुरुवात गरेका लम्साल र सुवेदी द्वय हालको चलचित्र पत्रकारिताको उच्च नाम हुन् । पत्रकारिताको माध्यमबाट नेपाली सिने क्षेत्रको विकास र विस्तारको लागी उल्लेख्य योगदान गरे बापत सम्मान प्रदान गरिएको आयोजकले प्रकाशित गरेको स्मारिकामा उल्लेख छ ।