क्षतिपुर्तीमा मिल्यो ‘कृ’को चोरी विवाद, प्रधान भन्छन्ः ‘क्यास नहुँदासम्म मुद्धा सकिन्न’
फिल्म ‘कृ’मा समावेश गीत ‘उकालीमा अघि अघि’ चोरीको आरोपमा मंगलबार सांझ प्रहरी नियन्त्रणमा परेका निर्माता सुवास गिरी रिहा भएका छन् । उजुरीकर्ता (सम्झना फिल्म निर्माता) सम्भु प्रधानलाई ‘कृ’ निर्माताले ११ लाख क्षतिपुर्ती दिने सहमतीपछि प्रधानले जाहेरी फिर्ता लिएका हुन् ।
यो हो विवादित गीतः
क्षतिपुर्ती दिने लिखित सम्झौता र सोहि समयमा नै ‘कृ’ निर्माण कम्पनि निर्माता गिरीको निजी ब्यानर सुवास इन्टरटेन्मेन्टको तर्फबाट ‘चेक’ प्रधानलाई हस्तान्तरणपछि विवाद सकिएको थियो । महानगरिय प्रहरी परिसर टेकुमा प्रधानले केहि दिन पहिले दिएको किटानी जाहेरीको आधारमा मंबलबार सांझ ६ बजे गिरीलाई प्रहरीले २४ घण्टे बयानको लागी भन्दै नियन्त्रणमा लिएको थियो ।
क्षतिपुर्तीसँगै फिल्मबाट गीत हटाउने समेत सहमति भएको छ । युट्युव रिलिज हुँदा फिल्ममा उक्त गीतको अडियो बज्नेछैन् तर प्रदर्शनको क्रममा रहेका विदेशमा विभिन्न शहरमा ‘कृ’ लाग्दैगर्दा भने गीत बज्नेछ । जाहेरीकर्ता प्रधानले डिजिटल तथा ओभरसिज अधिकार खरिद गरेको कम्पनि हाएलाइट्स नेपालका ओम गुरुङको आग्रहमा फाइल पठाइसकिएका देशहरुको शोजहरुमा भने उक्त गीत बजाउनको लागी अनुमति दिएको बताए । उक्त गीत ‘सम्झना’ फिल्ममा समावेश हुँदा संगीत भरेका संगीतकार रञ्जित गजमेरले समेत यसअघि नै बयान दिईसकेका थिए ।
यसैबीच प्रधानले तत्काललाई प्रहरीसम्म पुगेको मुद्धा फिर्ता लिएको भएपनि ‘चेक’ नसाटिँदासम्म आफ्नो मुद्धा नटुङ्गिने बताएका छन् । उहाँले आज (बुधबार)कै मितिको चेक दिनुभएको छ, यद्धपि म भोली (बिहिबार) मात्रै बैङ्क जानेछु, प्रधानले भने, ‘क्यास’ नहुने तथा चेक वाउन्स हुने अवस्था आउँदा फेरी मुद्धा बल्झिनेछ, बैङ्किङ कसुर अन्तर्गतको मुद्धा सुरु हुनेछ ।’
अरुको सृजना चोरी र कपी गर्ने परिपाटी नेपाली फिल्म उद्योगबाट अन्त्य गर्नको लागी आफ्नो यो प्रकारको कदम सफल भएको भन्दै प्रधानले भोलीका दिनमा यस्ता घटना नघट्ने विश्वास समेत लिए । युट्युवबाट हाइलाइट्स नेपालले गीत भने यो समाचार तयार पार्दासम्म हटाएको छैन ।