गीत चोरी आरोपमा ‘कृ’ निर्माता गिरी प्रहरी नियन्त्रणमा, भुवन केसीलाई के हुन्छ ?
केहि हप्तादेखि चर्चामा रहेको ‘कृ’ फिल्मको गीत चोरीको विवाद अन्ततः प्रहरीको जिम्मामा पुगेको छ । फिल्म निर्माता सुवास गिरीलाई प्रहरीले हिरासतमा लिएको छ । मंगलबार सांझ ६ बजे छलफलको लागी प्रहरी परिसर टेकु पुगेका गिरीलाई २४ घण्टाको लागी प्रहरीले हिरासतमा लिएको हो ।
निर्माता तथा निर्देशक सम्भू प्रधानको पुरानो फिल्म ‘सम्झना’मा समावेश उकालीमा अघि अघि…’ बोलको गीत अनुमति बीना ‘कृ’ फिल्ममा समावेश गरिएपछि निर्माता प्रधानले प्रतिलिपी उल्लंघनको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि पनि ‘कृ’ निर्माता गिरी र अर्का निर्माता भुवन केसीले आफुहरुले कसैको सृजना चोरी नगरेको दाबी सहित छलफलमा समेत बस्न नमानेको प्रधानले आरोप लगाएका छन् ।
पटक-पटकको आग्रहमा फिल्ममबाट गीत हटाउन नमानेको र गल्तिसम्म स्विकार नगरेपछि बाध्य भएर आफु प्रहरी समक्ष पुगेको प्रधानले फिल्मीनेपालसँग बताए । प्रधानले भुवन केसी विरुद्ध पनि जाहेरी दिएको भएपनि चलचित्र विकास वोर्डमा फिल्म दर्ताको क्रममा केसीको नाम उल्लेख भएको नपाइएपछि यो ‘केस’मा गिरी मात्रै मुछिएका हुन् । तत्काललाई भुवन भने बचेका छन् ।
अरुको सृजना चोरीको क्रमलाई अन्त्य गर्न आफुले कानुनी बाटो समाएको प्रधानले बताए । नियन्त्रणमा लिएको २४ घण्टापछि प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएर मुद्धा प्रक्रिया अघि बढाउने छ । प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ। त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ।