जब संसदमा कोमल वलीले कविता सुनाइन्…
यतिबेला राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने कलाकारिता क्षेत्रसँग जोडिएको एक मात्र नाम हो कोमल वली । यी चर्चित गायिका एमाले कोटाबाट राष्ट्रिय सभा प्रवेश गर्दै आफ्नो सकृय राजनीतिलाई अघि बढाउँदै गर्दा कोमलबाट नेपाली कला क्षेत्रले ठुलो आशा पनि बोकेको छ ।
कोमलले मिडियासँगको कुराकानीमा समय आउँदा र अबसर पाउँदा आफ्नो पक्षबाट आफ्नो पहिचान सृजना गरेको कला क्षेत्रको लागी केहि न केहि गरेरै छाड्ने प्रतिवद्धता समेत जनाउँदै आएकी छिन् । यो बीचमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कविता सुनाउँदा धेरै संसदहरु अचम्ममा परे ।
राष्ट्रियसभामा दोस्रोपटक आफ्नो धारणा राख्ने अबसर पाएकी कोमलले सार्दुल बिक्रीडित छन्दमा शहीदप्रति सम्मान बोल्ने कविता बाचन गरिन् । ‘म कलाकारिता क्षेत्रको भएकोले त्यसरी नै आफ्ना कुरा राख्नुस् न भन्ने केही माननीय सदस्यको सुझावका आधारमा म आज कविता सुनाउँदै छु,’ उनले भनिन् ।
तिम्रो जन्म हुँदा थियो क्षितिजमा दुर्भाग्यको बादल
काप्थ्यो थरथर मेरुदण्ड युगको बज्दैनथ्यो मादल ।।
चिर्दै चरचर अन्धकार तिमीले राँको लिँदै हातमा
खोस्री मार्ग कठीन बन्ने रहर पन्छाउँदै रातमा ।।
डाक्यौ प्रेम छरेर सत्य बहने संसार भेटाउन
नेपाली अनुहारका कलसता खुर्केर मेटाउन ।।
संसदमा यसरी छन्द मिलाएर कसैले कविता सुनाएको सायदै यो पहिलो पटक थियो । त्यसैले त उपस्थित सांसदहरुले उनले कविता बाचन गर्दै गर्दा मन्त्रमुग्ध रुपमा सुनिरहेका देखिन्थे । उनले आफ्नो भनाइको सुरुवातीमा नै शहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गरेकी थिईन् ।
कविता सुनाईसकेपछि कोमलले आम नेपालीले चाहको समृद्धिको मार्गमा अवरोध सिर्जना हुन थालेको बताइन् । ‘यो कुरा हामीलाई सामान्य लाग्न सक्ला, तर निर्वाचन पर्यवेक्षणको नाममा युरोपेली युनियन (ईयू)ले जुन किसिमको रिपोर्ट दियो त्यसले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिल्याउन प्रयासरत छ,’ उनले भनिन्, ‘आमनेपाली जनतााबीच रहेको सुमधुर सम्बन्धबीच बेमेल सिर्जना गर्न खोजिएको यस प्रयासलाई प्रतिकार गर्न सकेनौँ भने भविष्यमा अन्य ठाउँबाट पनि यस्ता रिपोर्ट आउन सक्छन् ।’
आम नेपालीको एकता र विविधतामाथी अन्तर्राष्ट्रिय स्तरबाट आक्रमण हुन सुरु भइराखेको नेपाली जनताले चाहेको सम्वृद्धिको बाटोमा अवरोध हुन थालेको भन्दै कोमलले इयूको रिपोर्टले नेपाली जनतालाई भ्रम सृजना गर्न खोजेको भन्दै सबै एक भएर आवाज बुलन्द बनाउन सकेनौँ भने नेपाल र नेपालीको लागी घातक हुनसक्ने बताइन् । संसदमा सबै सांसदहरु समय व्यतित गर्न मात्र उपस्थित छैनौँ भन्दै उनले देशको सार्वभौमता र राष्ट्रियताको कुरा गर्दै गर्दा समय सकिएको भन्दै उनको माइक काटिएको थियो ।
(माथी उल्लेखित भिडियोको ३३ औं मिनेटको ३२ सेकेण्डबाट वलीको कविता र संसदमा राखेको कुराहरु सुन्न सक्नुहुनेछ)