Logo

‘रामकहानी’ बाहेक केहि प्लानिङ छैनः सुदर्शन थापा

प्रेमकथाको फिल्म निर्देशनमा अब्बल नाम हो सुदर्शन थापा । यीनै सुदर्शन यतिबेला भने केहि फरक स्वाद पस्किने फिल्म ‘रामकहानी’मा व्यस्त छन् । कमेडी जनरामा तयार हुँदै गरेको फिल्ममा केदार घिमिरे ‘माग्नेबुढा’ देखि जितु नेपालसम्मलाई लिएर दौडधुप गरिरहेका सुदर्शनले बाहिर आएको नयाँ प्रोजेक्टको कुरालाई नकारेका छन् ।

‘डि फर डान्स’ नामको फिल्मलाई लिएर गरिएको प्रश्नमा सुदर्शनले भने, ‘त्यो मेरो २ बर्षपछिको प्रोजेक्ट हो, नाम आफ्नो पक्षमा राखिरहनको लागी विकास वोर्डमा दर्ता मात्र गराएको हुँ ।’ साथै उनले दर्ताको क्रममा लिड अभिनयमा पूजा र अनिल परियार उल्लेख भएको कुरालाई क्लियर गर्दै प्रक्रिया पुरा गर्न कलाकारको नाम नराखी नहुने भएको कारण मात्र पूजा जोडिएको भन्दै पूजा नै हुने नहुने टुंगो नभएको समेत बताए ।

भदौलाई ‘रामकहानी’को रिलिज मिति तय गरिसकेका सुदर्शनले यतिबेला आफुले ‘रामकहानी’ बाहेक केहि नसोचेको र अन्य प्रोजेक्टको तयारीमा पनि नरहेको भन्दै यो फिल्म रिलिजपछि मात्र अरु काममा लाग्ने बताए । ‘म यस्तो गीत गाउँछु’ सिक्वेलको काम पनि तत्काललाई रोकिएको उनले बताए ।

रामकहानीमा माग्ने बुढा र जितुसँगै पूजा शर्मा र आकाश श्रेष्ठको जोडी लिड अभिनयमा छ ।

Comments