देशैभर ‘शत्रु गते’, यस्तो रह्यो ओपनिङ
शुक्रबारबाट बर्ष २०७४ को प्रतिक्षित मध्येको एक फिल्म ‘शत्रु गते’ रिलिज भएको छ । देशभर सयबढि पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पाएको शोजहरुलाई अहिलेसम्मकै सर्वाधिक भनिएको छ । वलिउड हलिउडको कुनै ठुला रिलिज नहुनु अनि नेपाली फिल्म प्रतिस्पर्धामा नउत्रिनुको फाइदा यो फिल्मलाई मिलेको छ ।
मल्टिप्लेक्स तथा सिंगल स्कृनमा एकछत्र राज गरेको फिल्मको ओपनिङ सुखद देखिएको छ । यद्धपि निर्माण टिम तथा वितरकको अनुमान अनुसार भने पहिलो शोजमा दर्शक देखिएनन् । राजधानीका मल्टिप्लेक्सहरुमा सुरु भइसकेका शुक्रबारको बिहानी शोजहरु करिब करिब हाउसफूलको नजिक रहे भने अपराह्न सुरु हुने शोजहरुमा पनि टिकट बिक्री राम्रो गइरहेको जानकारी प्राप्त छ ।
मल्टिप्लेक्समा फिल्मको सुरुवाती शोजको अकुपेन्सी करिब ७० प्रतिशत आसपास पाइएको छ । क्युएफएक्स, बिग सिनेमामा दर्शकको उपस्थिती एफक्यूब हलमा भन्दा राम्रो छ । यस्तै राजधानीका सिंगल स्कृनमा फिल्मको सुरुवाती अकुपेन्सी ६० प्रतिशत आसपास पाइएको छ । सर्वाधिक चासोको साथ हेरिने चाबहिल स्थित गोपिकृष्ण हलको ठुलो पर्दामा भने ७० प्रतिशत बराबरको अकुपेन्सी रहेको हल म्यानेजरले बताए । यस्तै अष्टनारायण र गंगा हलमा भने यो भन्दा केहि कम रहँदा अन्य केहि हलहरुमा पहिलो शोजमा दर्शकको उपस्थिती मध्यम पाइएको हल छ ।
गोपिकृष्णमा वितरक तथा निर्माण टिमले पहिलो शोजमा नै दुई, तीन पर्दा हाउसफूल बन्ने अनुमान सहित शोज मागेको थियो, तर त्यो अनुरुप भने दर्शक उपस्थित भएनन् । दिवा शोजहरुमा दर्शकको चाप बढ्ने अनुमान हल सञ्चालकले गरेका छन् । यस्तै मल्टिप्लेक्समा अग्रिम टिकट बुकिङले नै पाइपलाइनमा रहेका शोजहरुमा दर्शकको उपस्थिती आक्रामक देखिने अनुमान सहज लगाउन सकिन्छ ।
प्रदिप भट्टराइ निर्देशित फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो । किरण केसीको प्रस्तुतीमा तयार भएको फिल्मलाई कमेडी जनरा भनिएको छ । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, बसुन्धरा भुषाल, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा लगायत लिड अभिनयमा छन् ।