चलचित्र संघको साधारणसभामा मुख्य एजेण्डा बन्यो बक्स अफिस
नेपाल चलचित्र संघको ४५औं साधारणसभा सम्पन्न भएको छ । बुटवलको होटल डार्सिज इन्टरनेशनलमा चैत ६ र ७ गते सम्पन्न सभामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रमुख अतिथि रहे । साथै बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी विशिष्ट अतिथिको रुपमा आमन्त्रित थिए । सभामा देशभरका हल व्यवसायी पनि उपस्थित थिए ।
सभामा नेपाली सिनेमा र बक्स अफिस प्रणालीको बारेमा छलफल गरियो । मोफसलका हल व्यवसायीहरुलाई बक्स अफिस प्रणाली कसरी लगाउने भनेर सुसुचित पनि गरियो । सभा पछी चलचित्र बिकास बोर्डले सुरु गरेको बक्स अफिस सिस्टमलाई सबैले सकारात्मक रुपमा लिए । साथै बोर्डको निर्धारित समयमै बक्स अफिस प्रणाली लागु गर्नमा सबै हल व्यवसायी एकजुट हुने निष्कर्ष निकालियो, प्राप्त समाचारमा उल्लेख छ ।
साधारणसभामा संघ अध्यक्ष प्रदिपकुमार उदयले नेपाली हलहरुलाई आगामी दिनमा मर्यादित तवरले अगाडी बढाउने र समय सापेक्ष हलहरु ‘अपग्रेड’ गर्दै लैजाने बताए । सभामा मुख्यमन्त्री पोखरेलले आगामी दिनमा मौलिक कथामा सिनेमा निर्माण गर्न सके सिनेमा क्षेत्रले आफ्नो परिभाषा पाउने र केहि हदसम्म फड्को मार्ने विश्वास व्यक्त गरे ।