Logo

ग्रिनकार्डसँग राष्ट्रियता साट्ने नेपाली कलाकार

अमेरिका नेपालीहरुको लागि सपनाको शहर भनिन्छ । भनिँदै आइएको छ । त्यसैले त डिभी (डाइभर्सिटी भिषा) खुल्ला हुँदा होस् या अन्य कुनै कार्यक्रमको बहानामा अमेरिकामा ‘अप्लाइ’ गर्ने वातावरण बन्दा धेरै नेपालीहरु मरिहत्ते नै गर्छन् । अझ यसमा नेपाली सेलिब्रेटीहरुको नाम त सधैं अग्र पङ्ग्तीमा आउँछ ।

नेपालमा धेरै पहिलेदेखि कलाकर्मीलाई राष्ट्रको गहना मानिँदै आइएको छ । कलाकार भन्ने शब्दमा नै सम्मान छ, भलै ब्राण्ड भइसकेको यो शब्दलाई सरकारी निकाएबाट आड भरोषा मिल्दै नआउँदा पनि । तर देशलाई विदेशसम्म चिनाउने, सामाजिक परिवर्तनको पर्याय मानिने गहना मानिएका कलाकारहरुलाई नै सपनाको शहरले यति लोभ्याउँछ कि उनिहरु त्यस धर्तीमा पाइला टेक्दै गर्दा देश बिर्सिन्छन्, कला संस्कृति, भेषभुषासँगै समाज अनि आफन्त बिर्सिन्छन् ।

यहाँ हामी ग्रिनकार्ड पाउने लोभमा अनि ग्रिनकार्ड पाउँदै गर्दा देश र राष्ट्रियता बिर्सिने या भनौँ ग्रिनकार्डसँग राष्ट्रियता साट्ने केहि कलाकर्मीको बारेमा चर्चा गर्दैछौँ । यो शिर्षकलाई विषयवस्तु बनाउँदै गर्दा हिजोदेखि आजसम्म अमेरिका पलायन भइरहेका नेपाली कलाकारहरुको वर्णन गर्दै जाने हो भने लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य जत्तिकै लामो कन्टेन्ट बन्नसक्छ । त्यसैले यहाँ चिनौँ पछिल्लो क्रममा संभावनावान मानिएका अनि नेपालमै रहँदा केहि गर्नसक्ने बलियो दाबेदार मानिएका तर मौकामा चौका हान्दै अमेरिका पलायन भएका केहि कलाकर्मीहरु ।

राजबल्लभ कोइरालाः
‘पर्खि बसे’ डेब्यू हिरो राजबल्लभ कोइराला नेपाली फिल्म उद्योगको संभावनावान अभिनेतामा गनिन्थे । अभिनय यात्राको छोटो समयमा आफुलाई अब्बल दर्जामा राख्दै राम्रै फ्यान फलोइङ पनि कमाएका राजबल्लभ जब अमेरिका पहिलो पटक टेके त्यो नै उनको लागी नयाँ जीन्दगी जस्तै बन्यो । पोखराबाट आरजे हुँदै कलायात्रामा जोडिएका यी हेण्डसम हङ्क अन्तिम पटक ‘ऋतु’ र ‘छ एकान छ’ नामको फिल्ममार्फत पर्दामा आएका थिए ।

यो बीचमा एक हलिउड फिल्म ‘हाइवे टू धुम्पुस’मा पनि उनि देखिए । अब भने उनी अमेरिकामा नै ‘सेटल’ भइसकेका छन् । उतै घरजम गरिसकेका राजबल्लभ अक्कल झूक्कल नेपाल आउँदा अचम्म नहोला तर फिल्म उद्योगबाट भने विस्थापित जस्तै बनिसकेका छन् । तर सामाजिक सञ्जालमा देशप्रेम पोख्ने र समय समयमा अस्थिर नेपाली राजनीतिक विषयमाथि शब्दको वाण हान्नेमा भने यी अभिनेता पहिलो नम्बरमा जस्तै आउँछन् ।

सुवास थापाः
आफ्नै निर्माणमा तयार भएको फिल्म ‘बिर्खेलाई चिन्छस्’ सुवासको अन्तिम फिल्म थियो । थिएटर हुँदै ठुलोपर्दामा आएका सुवासको अभिनयबाट धेरै प्रभावित थिए । पर्दामा आउँदा दर्शकलाई होल्ड गर्ने सामर्थ्य राख्ने यी सुवासको घमण्डीपनाले करियरलाई नै धरापमा पार्दै गएको थियो । आफ्नै निर्माणको फिल्मको ‘शोज’हरुमा सहभागीताको लागी अमेरिका पुगेका उनि त्यसयता पर्दामा फर्केका छैनन् । जानकारीमा आए अनुसार उनि पनि अमेरिकामा सेटल भइसकेका छन् ।

मुकेश ढकालः
मुकेश ढकाल, १०, १२ बर्ष पहिलेको नेपाली फिल्म क्षेत्रको लागी चल्तिको नाम थियो । अभिनयमा यति भ्याइ नभ्याई हुन्थ्यो कि एउटै ड्रेसमा दिनमै दुई फिल्मसम्म गर्न उनले भ्याउँथे रे । तर समय कहाँ एकनास रहन्छ र ! आफू अभिनित ‘धुन’ नामको फिल्म हलमा लाग्दै गर्दा एक वर्कसपको नाममा अमेरिका हानिएका मुकेश त्यसपछि नेपाल फर्केनन् । उनले बर्षौ पहिले काम गरेका फिल्महरु अहिलेसम्म पनि रिलिजको क्रममा छन् । हुन त मुकेश पर्दामा बिक्न छाडेपछि सेफ ल्याण्डिङ हेर्दै अमेरिका पुगेका थिए । तर अब भने उनलाई अमेरिकाले मोहनी लगाइसकेको छ । उता पुगेको पाँच बर्ष हुनै लाग्दा एक पटक पनि उनि नेपाल फिरेका छैनन् ।

सुशाङ्क मैनालीः

‘सुशाङ्कको अभिनयमा जादु छ’, फिल्म ‘साँघुरो’ हेरिसकेपछि धेरैले गरेको तर्क थियो यो । उक्त फिल्मले उनका त्यो पहिलेका सबैजसो काम छायाँमा पार्यो । चौतर्फी प्रशंसा भेटे । विभिन्न अवार्ड पनि हात पारे । तर त्यसपछि अमेरिकाको बाटो समाएका सुशाङ्कका केहि फिल्म पर्दामा आउँदा पनि उनि नोटिस भएनन् । पछिल्लो पटक ‘को आफ्नो’ र ‘जङ्गे’मा पनि उनि देखिए । अब संभवतः उनि अभिनित तर रिलिज हुन बाँकी कुनै फिल्म छैनन् । उनि उतै सपनाको सहरमा रमाउँदै छन् ।

विनिता बरालः

‘चपली हाइट’ विनिता चिनाउने खास फिल्म वन्यो । अभिनयले भन्दा पनि ग्ल्यामर दृश्यले दर्शकलाई आफ्नो पक्षमा पार्दै जबरजस्त फ्यान कमाएकी यी सुन्दरी दुई बर्षजस्तो पहिले अमेरिका पुगिन् । पढाई भन्दै स्टुडेण्ड भिषामा अमेरिका हानिएकी विनिता अब उतै सेटल भएकी छिन् । अमेरिकामा नै स्थायी पिआरधारी प्रेमी पाएपछि उनि थप मख्ख छिन् । कृषि क्रान्तिको नाममा नयाँ पाराले परिचय बनाउने भन्दै एकसमय मिडियामा चर्चा बटुलेकी विनिताको सबै कुरा प्रचार बहाना जस्तै बनेका छन् ।

उल्लेखित कलाकार र प्रतिनिधिपात्र मात्र हुन् । अमेरिका पुगेर बर्षौदेखि उतै स्थाई जीवन यापन सुरु गरेका कृष्टि मैनाली, जल शाह, रञ्जना शर्मा, सौजन्य सुब्बा, अरुणिमा लम्साल, ऋचा घिमिरे, यूना उप्रेती, सज्जा मैनालीसँगै पछिल्लो पटक बाटो तातो बनाउँदै गरेकी नन्दिता केसीहरुको नाम पनि प्रायः चर्चामा रहन्छ । यी सँगसँगै अभिनेता विमलेश अधिकारी, निर्देशक श्याम भट्टराई, सुरेशदर्पण पोखरेल, शंकर घिमिरेहरु पनि यो सुचीमा अटाउँछन् ।

‘तुलसी’ फिल्म निर्माणपछि बर्षौं पहिले बच्चाकी आमा बन्ने समयमा अमेरिका पुगेका ऋचा र शंकर जोडी त्यसपछि उतै पलायन भए । एक पटक पनि देश फर्केनन् । फिल्मसम्म रिलिज भएन । पछिल्लो पटक आमा बन्नुपुर्व अभिनेत्री निशा अधिकारी पनि अमेरिका पुगेकी छिन् । यसअघि आतेजाते मात्रै गरेकी निशा बच्चाकी आमा बन्नुपुर्व अमेरिका पुग्नुले कतै उनि पनि उतै ‘सेटलमेन्ट’को तयारीमा त छैनन् भन्ने कौतुहलता पनि धेरैमा छ । यो कुराको ‘जस्टिफाइ’ पनि केहि महिनाको अन्तरमा पक्का हुनेछ ।

यो बीचमा यस्ता नामहरु पनि छन् जो बर्षौसम्म अमेरिका बसेर पनि ‘आफ्नै घाट प्यारो’ भनेझैँ देश फर्केर पुनः अभिनय यात्रामा लागेका छन् । सरोज खनालदेखि गौरी मल्ल, करिश्मा मानन्धर, रमेश उप्रेती, राजाराम पौड्याल लगायत यो सुचीमा अटाउँछन् । यी नामहरु यतिबेला पुनः अभिनय यात्रामा तथा फिल्म निर्माणमा सकृय रुपमा लागिरहेका छन् ।

माथी उल्लेख भएका या नभएका धेरै कलाकर्मीहरु ‘सेटलमेन्ट’को बन्दोवस्त सबै गरिसक्दा पनि सामाजिक सञ्जालमा देशप्रेम घन्काउन भने कहिल्यै पछि पर्दैनन्, सँगसँगै राजनीतिज्ञहरुलाई गाली गर्नमा पनि । कोहि रहरले पलायन भए होलान् त कोहि बाध्यता र परिवन्धले । तर विदेश पुगेपछि देश नफर्किनु अनि आफुलाई चिनाएको र परिचय स्थापित गरेको क्षेत्रसँग सम्बन्ध टाढा राख्नु उनिहरुको गल्ती हुनसक्छ । यो सँगै पछिल्लो क्रममा अमेरिकाबाट मोहित भइरहेका तथा आतेजाते गरिरहेका कति कलाकारहरु अन्ततः उतै बन्दोवस्तको मनस्थितिमा पुग्छन् अनि पलायन हुन्छन् त्यसको हेक्का पनि पक्कै मिडियाहरुले राख्नेछन् ।

Comments