अर्ज्याल स्मृति केन्द्रबाट नगद र ताम्रपत्रसहित धुर्मुस सुन्तलीलाई सम्मान
कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले वस्ती निर्माण देखि अन्य विभिन्न प्रकारका उदाहरणिय काम गरिरहँदा उल्लेखित द्वयको कामको देश विदेशबाट चौतर्फी प्रशंसा हुँदै आइरहेको छ । उनिहरुको कामको सराहना बढ्दै जाँदा विभिन्न क्षेत्र तथा संस्थाहरुले कामको उच्च मुल्याङ्कन सहित सम्मान पनि गरिँदै आइएको छ ।
यो बीचमा शनिबार मात्रै समाजिक कार्यमा सकृय संस्था दण्डपाणी अर्ज्याल स्मृति केन्द्रको तर्फबाट कलाकार द्वय धुर्मुस र सुन्तलीलाई सम्मान गरिएको छ । विगत १० बर्षदेखि बर्षयता सामाजिक कार्यमा विशिष्ट योगदान दिँदै आएका अभियन्ताहरुलाई सम्मान गर्दै आएको उक्त स्मृतिकेन्द्रले बर्ष २०७४ को सम्मान धुर्मुस सुन्तलीलाई प्रदान गरेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी मध्य पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. उपेन्द्र कोइरालाले नगद रु पच्चिस हजार सहित ताम्रपत्र र दोसल्ला ओढाएर धु्मुसलाई सम्मान गरे । स्वास्थ्य खराबीको कारण कार्यक्रममा सुन्तली भने उपस्थित थिईनन् ।
यो संस्थाले यसअघि नै ज्ञानमणि नेपाल, सुरेशराज शर्मा, सत्यमोहन जोशी, प्रेम खत्री, मदनमणी दिक्षित, सुरेन्द्र के.सी लगायतलाई सम्मान गरेको थियो ।