Logo

फागुनमा मात्रै १० फिल्म रिलिज, कुन हिट कुन फ्लप ?

हरेक शुक्रबारजसो नेपाली पर्दामा फरक फरक फिल्म रिलिज हुन्छन् । नेपाली दर्शकलाई प्रत्येकहप्ता रोजीरोजी फिल्म हेर्ने मौका मिल्छ । तर दुर्भाग्य बेग्ला बेग्लै स्वाद दिने भनिएका फिल्महरु आउँदा पनि त्यो स्वादको मिठासमा दर्शकले शंका गर्छन् क्यारे हलसम्म नै नपुग्दा धेरै फिल्मले पानी सम्म भन्न भ्याउँदैनन् । यानेकी लगानीको १० प्रतिशत पनि मुश्किलले उठाउँछन् । यस्तै भयो यो फागुनमा रिलिज आधा दर्जन जस्तो फिल्मलाई पनि ।

फागुन महिना सकिँदै गर्दा फिल्मीनेपालले महिनाभरी रिलिज फिल्मको वक्सअफिस समिक्षा गरेको छ । जहाँ अहिलेसम्म मुश्किलले एक मात्रै फिल्मले लगानी सुरक्षित गरेको दाबी गरेको छ भने अन्य फिल्म निर्माताले दाबीसम्म गर्न पाएनन् । भने हाल प्रदर्शनरत तीन फिल्म मध्ये ‘मंगलम’को लाईफटाइम कलेक्सनलाई पर्खिनु उचित देखिएको छ ।

फागुन पहिलो साता (४ गते) श्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ रिलिज भयो । आकाश अधिकारी निर्देशित तथा श्वेतासँगै दयाहाङ राई स्टारर फिल्मले ओपनिङ राम्रो गर्यो । तेश्रो हप्तासम्म पनि केहि हलमा टिकिरहेको फिल्मले मुश्किलले लगानी सुरक्षित गरेको निर्माण टिमको दाबी छ । तर ३ करोड आसपास ग्रस बिजनेस गरेको बताईएको फिल्मको लागत २ करोड भन्दै गर्दा फिल्मले हलबाटै आएको सेयरबाट लगानी उठाएको अपत्यारिलो लाग्छ । तर डिजिटल राइट्स, ब्राण्ड पार्टनर र ओभरसिज राइट्सबाट श्वेता भने सुरक्षित भइसकेकी छिन् ।

यस्तै फागुन ११ मा दुई फिल्म रिलिज भए । कमर्सियल रुपमा ‘पञ्चेबाजा’‘साढेसात’ दुबै असफल साबित भए । धनश्याम लामिछानेको निर्देशनमा बनेको ‘पञ्चेबाजा’ले समिक्षक तथा जतिपनि फिल्म हेर्ने दर्शकबाट तारिफ भेट्यो । तर सोचेअनुसारको साथ दर्शकबाट नपाउँदा फ्लपको ट्यागबाट बाहिर निस्किन सकेन । ‘साढेसात’लाई भने रिलिजपुर्वको प्रिमियरबाट नै समिक्षकले झुर बोले । पहिलो दिनको शोज हरुमा समेत दर्शक हलमा नपुग्दा रिलिजकै दिन केहि हलका शोजहरु बन्द भए । सुपरफ्लपको ट्याग यो फिल्मले पायो ।

फागुन तेश्रो साता नेपाली पर्दामा तीन फिल्म प्रदर्शनमा आए, ‘नाका’, ‘ब्लाईण्ड रक्स’ ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ । यस्तै यहि शुक्रबार तराइ भेगमा होलीको उपहार भन्दै निखिल उप्रेती र सौगात मल्ल स्टारर ‘संरक्षण’ पनि पुनः रिलिज गरियो । तर कुनै पनि फिल्मलाई दर्शकले पत्याएनन् । उल्लेखित फिल्मले वक्सअफिसमा कमाल गर्न सकेनन् । हलमा पुगेर फिल्म हेर्नमा भन्दा धेरै दर्शकले साथीसंगीसँग रङ्ग खेलेरै होलीको उमङ्ग साटे ।

त्यसपछि पछिल्लो हप्ता यानेकी फागुन २५ मा एकसाथ तीन फिल्म भिडन्तमा उत्रिए । हाल हलमा प्रदर्शनरत तीन फिल्म ‘मंगलम’, ‘हुर्रे’‘गाँजा बाजा’ मध्ये मंगलम बाहेकका दुबै फिल्मले लगानी सुरक्षित गर्ने संभावना करिब मरिसकेको छ । प्रदर्शनको पाँचौ दिनमा आउँदा ‘मंगलम’ले हालसम्म १ करोड माथीको ग्रस विजनेस गरेको बताइएको छ । तर ‘हुर्रे’ र ‘गाँजा बाजा’को कलेक्सन यसको तुलनामा उल्लेख गर्न लायक छैन् । नवल नेपाल निर्देशित ‘मंगलम’ले १ करोडमाथीको ग्रस गर्दै गर्दा पनि हलबाटै आएको रकमले लगानी रिकभर गर्नेमा शंका छ । त्यसको बारेमा अहिले नै लेख्दा हतार हुनसक्छ । तर निर्माता छविराज ओझा भने डिजिटल राइट्स, रिलिजपुर्वको ‘एमजी’ र ओभरसिज राइट्सले आफु सुरक्षित भईसकेको दाबी गरेका छन् ।

उल्लेखित तथ्याङ्कले यो महिना पनि फिल्म क्षेत्रमा गरिएको करोडौंको लगानी वालुवामा पानी जस्तै बनेको छ । पछिल्लो समय नेपाली फिल्मसँग नजिक दर्शकको मनोभावना बुझ्ने गरी फिल्म तयार गर्न नसक्नु, अबुझमा लगानी गर्नु तथा फिल्मको खास (गुदी) विषयवस्तुलाई रिलिजपुर्व दर्शकमाझ बुझाएर ‘कन्भिन्स’ गराउन नसकेकै कारण धेरै फिल्महरुले फ्लपको ट्याग पाउँदै आएका छन् । यसैको निरन्तरता फागुन महिनामा पनि भएको छ ।

Comments