‘मंगलम’ ओपनिङबाट दङ्ग छवि, गाँजा बाजा र हुर्रेलाई दर्शकको साथ कति ?
शुक्रबारबाट नेपाली पर्दामा एकसाथ तीन फिल्म रिलिज भए । कुनै हप्ता एउटा पनि फिल्म रिलिज नहुने त कहिले एकसाथ तीन-तीन वटा फिल्म प्रदर्शनमा आउँदा दर्शकलाई फिल्म रोजी रोजी हल छिर्ने मौका मिल्यो । तर कुन फिल्म बढि प्राथमिकतामा पर्यो त ? उठान गर्न लायक विषय हुनसक्छ ।
शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्ममध्ये ओपनिङ विकेण्डमा छविराज ओझा निर्मित फिल्म ‘मंगलम’ले बाजी मारेको छ । शुक्रबार ४५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको फिल्मको शनिबारको देशभरको अनि दिनभरको (ओभरअल) अकुपेन्सी ७५ देखि ८० प्रतिशतको बीचमा रह्यो । निर्माता ओझाले दर्शकले दिएको साथबाट उत्साहित बताए ।
फिल्मको हल रिपोर्ट बुझ्न राजधानीका केहि हलमा पुग्दा मुख्यतः महिला दर्शकले आँखाबाट आँशू झारेको सम्म भेटियो । रिलिजपुर्व नै पारिवारिक अनि सामाजिक फिल्म बताएको निर्माण टिमले सोहि वर्गको फिल्मलाई नियमित माया गर्दै आएका दर्शकको साथ बढि पाएको छ । हलमा पुग्दा अभिनेत्री शिल्पा पोखरेल, अभिनेता पुष्प खड्का र पृथ्वीराज दर्शकबाट घेरिए, सेल्फीमा झुमे ।
उता अन्य दुई फिल्म ‘गाँजाबाजा’ र ‘हुर्रे’ले आशातित ओपनिङ गर्न सकेनन् । यद्धपी ‘गाँजाबाजा’ निर्देशक गणेशदेव पाण्डेले फिल्मको ओपनिङबाट खुशी व्यक्त गरेका छन् । युवापुस्ता केन्द्रित भनिएको फिल्मले ‘गाँजा’ हण्टिङको कथा बोल्छ । मल्टिप्लेक्समा यो फिल्म हेर्न अधिकांश युवा दर्शक देखिएका छन् । शनिबार सम्पन्न ‘प्रेस शो’मा हेर्ने मिडियाकर्मीले पनि फिल्मप्रति सकारात्मक प्रतिक्रिया पोखेका छन् । फिल्ममा सुशिल सिटौला, अनुपम शर्मा र वर्षा शिवाकोटी लिड रोलमा छन् ।
उता कमेडी जनराको फिल्म ‘हुर्रे’ निर्माण टिमले पनि आफुहरुले पस्किन खोजेको फरक स्वादलाई जतिपनि दर्शकले हेर्नुभयो सबैले राम्रो बोलेको बताएको छ । आइतबारबाट फिल्मप्रति दर्शकको साथ थप बढ्ने आशा निर्माण टिमले लिएको छ । यम थापाको निर्देशनमा बनेको फिल्ममा अनुपबिक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, बिजय बराल, अंकित खड्का लिड रोलमा छन् ।
(उल्लेखित तीन वटै फिल्मको व्यापारिक (वक्सअफिस) रिपोर्ट प्राप्त छैन ।)