‘पञ्चायत’लाई प्रिमियरमा प्रशंसा, प्रचण्ड र झलनाथले गरे नीताको तारिफ
चैत्र २ गतेबाट प्रदर्शनको तयारी गरिरहेको फिल्म ‘पञ्चायत’को रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । राजधानीमा आयोजित प्रिमियरमा नेतादेखि कलाकार तथा सञ्चारकर्मीको बाक्लो जमघट देखियो । पुर्व प्रधानमन्त्री द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालले फिल्मले मन जितेको बोले ।
प्रचण्ड र खनालले फिल्मले नेपाली समाजको एक कालखण्डलाई जस्ताको तस्तै देखाइएको भन्दै प्रशंसाका शब्दहरु निर्माण टिमलाई पोखे । प्रचण्डले नीताको काम धेरै राम्रो भन्दै भविष्य उज्जल रहेको बताउँदै (२०३१ साल) तत्कालित समयको सामाजिक तथासांस्कृतिक चित्रण गर्न फिल्म सफल भएको बताए । ‘पञ्चायत’लाई मर्मस्पर्शी भन्दै कलाकारहरुको प्रस्तुती अत्यन्त सुन्दर र राम्रो भएको उनको भनाई थियो ।
उता खनालले नीतालाई बधाई भन्दै फिल्मलाई रोचक र मार्मिक बताए । नेपाली समाजको यथार्थ प्रतिबिम्ब भन्दै विकृतिलाई उजागर गरेको निर्माण युनिटलाई बधाई खनालले दिए । पञ्चायतकालिन नेपाली समाजको यथार्थ चित्रण नै यो फिल्म रहेको उनको कथन थियो । प्रिमियरमा अन्य समयमा राजनीतिक दौडधुपमा रहने नेताहरु मिनेन्द्र रिजाल, बर्षमान पुनः, जनार्धन शर्मा लगायत पनि उपस्थित थिए ।
शिवम अधिकारी निर्देशित फिल्मलाई प्रिमियरमा हेर्ने अन्य धेरै दर्शकले पनि प्रशंसा गरे । केहि कमी कमजोरीबाट बाहिर निस्किँदा निर्देशकले कथालाई न्याय गर्न सकेको धेरैको तर्क थियो । नीतासँगै अभिनेता सरोज खनाल पनि बधाईका हकदार रहे । फिल्ममा गणेश गिरी, गीता अधिकारी, रुपा राना, विशाल पहारी, किरण थापा, जानवी बस्नेत लगायत लिड रोलमा छन् ।
नीताले यस फिल्मकै अभिनयबाट अमेरिकामा सम्पन्न एक फिल्म फेस्टिभलमा अवार्ड पनि जितिसकेकी छिन्। नीताले फिल्म हेरेपछि सबैले दिनुभएको प्रतिक्रियाले उत्साहित भएको बताईन् । फिल्ममा निभाएको भुमिकालाई स्मरण गर्दै आज (शुक्रबार) साँच्चिकै १४ बर्षे किशोरी बनेको ‘फिल’ भएको उनको तर्क थियो । अभिनेता सरोज खनालले एउटा कालखण्ड बोल्ने फिल्म लिएर आएको भन्दै यत्तिको फिल्मलाई पनि दर्शकबाट माया मिलेन भने कस्तो के बनाउने सोच्नै पर्ने भन्दै दर्शकको साथ पाउने अपेक्षा पोखे ।
प्रिमियरमा कलाकारहरु सबैले फिल्मकै पात्र चित्रण गर्ने भेषभुषामा प्रस्तुत थिए । गणेश गिरीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता रबी अधिकारी हुन् । सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदीले पनि लगानीमा साझेदारी गरेका छन् । कथा निर्देशक अधिकारीको नै छ ।