‘कृ’ जापान प्रदर्शन तय, विशेष स्कृनिङमा अनमोल र भुवन पक्का
यतिबेला नेपाली हलमा प्रदर्शनरत फिल्म ‘कृ’को जापान प्रदर्शन तय भएको छ । जापानी दर्शकमाझ ‘कृ’ आगामी मार्चमा प्रदर्शन हुनेछ । टोकियो, फुकोहोका, ओसाका लगायतका शहरहरुमा ‘कृ’को हालसम्म १० शोज हुने तय भइसकेको जापान प्रदर्शनको अधिकार लिएको ओम शान्ती ओम इन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले बताए ।
फिल्मको पहिलो शो टोकियो स्थित नाकानो जिरो हलमा मार्च ११ मा हुनेछ । उक्त शो मा उपस्थितीको लागी स्टार अभिनेता अनमोल केसीसँगै ‘कृ’ निर्माता भुवन केसी जापान पुग्नेछन् । अनमोल र भुवनसँगै सञ्चारकर्मी सचित खड्कालाई केहि दिन पहिले मात्रै जापानी दुतावासले बाटो फुकुवा गरेको थियो ।
पछिल्लो समय नेपाली कलाकारलाई जापानी अध्यागमन विभागले प्रवेशाज्ञामा कडाई गरिरहँदा ‘कृ’ टिमले भने सहज रुपमा बाटो पाएको हो । यसअघि चर्चित रियालिटी शो नेपाल आइडलका उत्कृष्ट तीनलाई समेत जापान सरकारले प्रवेशाज्ञा नदिएको कुराले चर्चा पाएको थियो । त्यसो त भुवन केसीलाई समेत केहि बर्ष पहिलेको आवेदनमा जापान सरकारले भिषा उपलब्ध गराएको थिएन ।
अब भने मार्च ८ मा नै अनमोल भुवन र सचित उल्लेखित शोजमा उपस्थितीको लागी जापान प्रस्थान गर्नेछन् । मार्च ११ पछिका ‘शोज’हरुको भने समय तालिका तय भइनसकेको ओम शान्ती ओम इन्टरटेन्मेन्टका अर्का सदस्य सुवास लामिछानेले बताए । आयोजकले मोटो रकममा ‘कृ’को जापान प्रदर्शन अधिकार आफ्नो पक्षमा पारेको दाबी गरेको छ ।
सुरेन्द्र पौडेल निर्देशित फिल्मले नेपाल प्रदर्शनमा दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, अनुपबिक्रम शाही, कामेश्वर चौरासिया लिड रोलमा छन् । एक्सन लभस्टोरी जनराको फिल्मका मुख्य निर्माता सुवास गिरी हुन् ।