किन हेर्ने विपिन डन बनेको ‘नाका’ ?
आउँदो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाका’ मल्टिप्लेक्स दर्शकको लागी अवेटेड दाबी निर्माण टिमले गर्दै आएको छ । सिंगल स्कृनमा पनि उत्तिकै दर्शकको साथको अपेक्षामा रहँदा फिल्मको प्रचार प्रसार भने खासै छैन् । कुनै ठुलो हल्लीखल्ली बीना हलमा आउँदै गरेको फिल्मलाई लिएर निर्देशक अमित श्रेष्ठ भने ठुलो आशामा छन् ।
‘म जन्मिएको सिन्धुपाल्चोक जिल्लामा जोडिएका बाह्रबिसे र तातोपानी नाकामा हुने गरेका वास्तविक घटनालाई नाकामा उतारेको छु’, निर्देशक श्रेष्ठ भन्छन्, ‘सानैदेखि देख्दै र भोग्दै आएका घटना रमाईला र मन छुने छन् ।’ विशेषतः तिब्बतबाट शरण लिन नेपाल छिर्ने तिब्बतीले भोग्दै आइरहेको पिडा र नाकाका नेपाली डनहरुको गतिविधिलाई ‘नाका’मा उतारिएको निर्देशक श्रेष्ठ बताउँछन् ।
‘सम्भवतः विपिन दाई पहिलो पटक यस्तो भूमिकामा प्रस्तुत भएको हुनुपर्दछ’, अभिनेता कार्कीको भूमिका बारे अमितको भनाई छ, ‘उहाँलाई नाकाको डनको रुपमा खतरनाक नै देखिएको छ ।’ यसअघि ‘पात बाजा,’ ‘कल्चर हेरिटेजेज अफ बाह्रबिसे बजार’ र ‘तेरेमी’ जस्ता डकुमेन्ट्री बनाएका उनी ‘नाका’लाई दर्शकले गाली नगर्नेमा ढुक्क छन् । फिल्म हेरेर दर्शक निराश चाहिँ हुने छैनन्, निर्देशक श्रेष्ठ भन्छन् ।
हाईलाइट्स नेपालसँगको सहकार्यमा मिडिया पोर्टको प्रस्तुती रहेको ‘नाका’ मा बिपिन कार्कीसँगै थिन्ले लहमो, रोविन तामांग, शिव मुखिया, प्रकाश गन्धर्व, सुजन थापामगर लगायत कलाकारहरुको अभिनय रहेको छ । निर्देशक श्रेष्ठको कथा रहेको फिल्मको स्क्रिप्ट भने अभिषेक सुवेदीले लेखेका हुन् । फिल्मको यसअघि टिजर सार्वजनिक सँगै फिल्मले सामाजिक सञ्जालमाएक प्रकारको चर्चा बटुलिरहेको छ ।