Logo

पहिलो हप्तामै ‘साढे सात’ पत्तासाफ, कस्तो बज्यो सौगातको ‘पञ्चेबाजा’ ?

गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ( साढे सात र पञ्चेबाजा)ले कस्तो ब्यापार गरे ? दर्शकको साथ कति पाए, धेरैको चासोको विषय हुनसक्छ । गायन यात्रामा राज गरेका सत्यराज आचार्य लिड अभिनयमा रहेको ‘साढे सात’ले रिलिज पुर्व राम्रो चर्चा पायो । उनिसँगै निकटस्थ धेरैले फिल्मको बारेमा भयंकर तारिफका शब्द बोले ।

तर रिलिजमा आएको पहिलो दिन नै यो फिल्मले पानी भन्न पाएन । रिलिजको दिन नै हलमा मान्छे नआएपछि मल्टिप्लेक्स तार्गेट बोलिएको फिल्मको यस अन्तर्गतका कतिपय हलमा शो नै हुनसकेन् । जसले नै फिल्मप्रति दर्शकले ठुलो चासो नदेखाएको तथा अवेटेड नमानेको स्पष्ट हुन्छ ।

प्राप्त श्रोत अनुसार फिल्मले पहिलो हप्ता सकिँदै गर्दा १० लाखसम्म पनि कलेक्सन गर्न सकेको छैन् । धेरै हलबाट यो फिल्म उत्रिसकेको छ । फिल्मको कथावस्तु अनि निर्देशकिय पाटो सबैलाई दर्शक तथा समिक्षकले खोट देखाएका छन् । उत्कृष्ट पाँचमा फिल्मले १ स्टार पनि मुश्किलले पाएको छ ।

साम्तेन भुटियाको निर्देशनमा बनेको ‘साढे सात’मा सत्यराज आचार्य, सुनिल थापा, मेनुका प्रधान, सुप्रिया कटवाल, कामेश्वर चौरासिया लगायत लिड रोलमा छन् । आचार्य दाजुभाइ सत्य स्वरुपले फिल्ममा संगीत भरेका छन् । पछिल्लो पटक लगातार आलोचित बनिरहेका निर्देशक भुटिया यो पटक पनि अग्र पङ्ग्तीमा आउन सकेनन् सँगै कुनै पनि कलाकारको प्रस्तुतीलाई ‘वाउ’ बोल्ने देखिएको छैन ।

उता सौगात मल्ल स्टारर फिल्म ‘पञ्चे बाजा’ले पनि कमालको बिजनेस गर्न सकेन् । हलमा दर्शकको खडेरी यो फिल्ममा पनि उस्तै रह्यो । तर तुलनात्मक रुपमा ‘पञ्चे बाजा’लाई दर्शकको साथ केहि माथी छ । निर्देशक घनश्याम लामिछानेको कामलाई धेरैले तारिफपनि दिए । सञ्चारकर्मी तथा समिक्षकले पनि फिल्मलाई सकारात्मक लिएका छन् ।

फिल्ममा सौगात मल्लदेखि सृजना सुब्बाहुँदै कर्मा शाक्य सम्मको कामको पनि तारिफ भएको छ । यसअघि ‘धौली’ नामको मौलिक फिल्म निर्देशन गरिसकेका निर्देशक लामिछानेलाई ग्रामिण भेगको कथामाथीको निर्देशनमा अब्बल स्थानमा राख्न सुरु भएको छ ।

उल्लेखित दुबै फिल्मले लगानी सुरक्षित नगर्ने प्रायः निश्चित बनेको छ । दुबै फिल्मको जोड्दा एक हप्तामै डेढ करोड माथीको लगानी बालुवामा पानी खन्याए जस्तै बनेको छ । पछिल्लो पटक ‘कृ’ र ‘कान्छी’ फिल्मले इनिसियल रुपमा दर्शक तानेको उदाहरण बिर्सिँदै गर्दा लगातार एकपछि अर्को गर्दै फिल्महरु फ्लपको ट्याग पाउँदै आएका छन् ।

Comments