Logo

‘कान्छी’ हेर्न दर्शकको भीड, यस्तो छ ओपनिङ बिजनेस

दुई बर्ष बढि अन्तरमा पर्दामा पुनरागमन गरेकी अभिनेत्री श्वेता खड्का स्टारर फिल्म ‘कान्छी’ प्रति दर्शक आक्रामक देखिएका छन् । शनिबार देशभरका हलमा यो फिल्म प्रति दर्शकको क्रेज राम्रो देखियो । अधिकांश हल हाउसफुल रहे ।

राजधानीमा फिल्मले दिनभर जस्तो ९० प्रतिशत माथीको अकुपेन्सी कायम गरेको छ । मेजर स्टेशन मानिने गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा लगायतका हलका पर्दाहरु हाउसफूल बनेको वितरक गोपालकाजी कायस्थले बताएका छन् । गोपिकृष्ण हलका ६ मध्ये शनिबारको दिवा शोज मा चार पर्दा हाउसफूल बनेको हल सञ्चालकबाट जानकारीमा आएको छ ।

मल्टिप्लेक्स हल अन्तर्गत फिल्मले पाएका अधिकांश शोजहरु दर्शकले भरिभराउ छन् । क्यूएफएक्स अन्तर्गतका शोजहरु निर्धारित समय पहिले नै दर्शकको अग्रिम बुकिङबाट भरिएका थिए भने बिग सिनेमा र एफक्यूवमा पनि दर्शक ‘कान्छी’ हेर्न उत्तिकै उपस्थित देखिएका छन् । फेमिली तथा सोसियल ड्रामा हेर्न दर्शकले देखाएको चासो र उपस्थितीलाई निर्माण टिमले धन्यबाद भनेको छ ।

यसैबीच शनिबार राजधानीका विभिन्न हलमा पुग्दा अभिनेत्री श्वेता खड्का, अभिनेता दयाहाङ राईसँगै अर्का अभिनेता प्रज्वल सुजल गिरी दर्शकबाट घेरिएका छन् । श्वेतासँग तश्विर खिचाउन तथा नजिकबाट साक्षात गर्न दर्शक आक्रामक बन्दा भिड थाम्नै कठिन परेको थियो । गोपिकृष्ण हलमा श्वेताले दर्शकसँगै फिल्मको ‘चरि चट्ट’ बोलको गीत पनि गाएकी थिइन् ।

आफ्नो कमब्याकलाई दर्शकले राम्रो रुपमा स्वागत गरेको भन्दै निर्मात्री, अभिनेत्री श्वेता खड्काले खुशी व्यक्त गरिन् । दर्शकले कुन रुपमा लिनु हुन्छ भन्ने डर थियो, श्वेताले भनिन्, ‘दर्शक फिल्म हेर्न आउनु पनि भयो र मन पनि पराउनु भयो, यसमा हाम्रो टिम निकै खुशी छ ।’ ‘कान्छी’मा विशेषगरी पारिवारिक दर्शक बढी देखिएका छन् । धेरै महिला दर्शकहरु हलबाट बाहिरिँदा आँखा रसाएको देखिन्थ्यो ।

आकाश अधिकारीको निर्माणमा बनेको फिल्म बर्षको प्रतिक्षित मध्येको एकमा यसअघि नै काउण्ट भइसकेको थियो । देशभरका७० बढि हलमा लागिरहेको फिल्मको निर्माण टिमले आइतबार बाट थप शोज हरु थपिने दाबी गरेको छ । फिल्मको आधिकारिक कलेक्सन सार्वजनिक गरिएको छैन् । फिल्मले शनिबार मात्रै १ करोड बराबरको ग्रस बिजनेस गरेको अनुमान गरिएको छ ।

यम थापाको कथामा तयार ‘कान्छी’मा नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने लगायत कलाकारहरु पनि लिड रोलमा छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने संगीत राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको छ ।

Comments