रिलिज अगाबै श्वेताको ‘कान्छी’ लगानी सुरक्षित
बर्ष २०७४ को प्रतिक्षित मध्येको एक फिल्म ‘कान्छी’ले रिलिज पहिले नै लगानी सुरक्षित गर्न सफल भएको छ । अभिनेत्री श्वेता खड्काको निर्माणमा बनेको फिल्मले रिलिजको एक हप्ता पहिले नै आफुलाई ‘सेफ साइड’ राख्न सफल भएको हो ।
प्रोडक्सन तथा पब्लिसिटी सबै गरेर २ करोड लागतमा निर्माण भएको फिल्मले ब्राण्ड पार्टनरहरुबाट मात्रै ८० लाख रुपैयाँ आफ्नो पक्षमा पार्न सफल भएको जानकारीमा आएको छ भने डिजिटल अधिकार सहित ओभरसिज राइट्सबाट १ करोड २२ लाख हातमा पारिसकेको बताइएको छ । जुन रकम जोड्दा २ करोड २ लाख हुन आउँछ ।
रिलिजको अन्तिम तयारी रहँदा प्रचार प्रसारलाई मोफसल यात्रामा रहेको ‘कान्छी’ टिम हलमा दर्शक तान्नको लागी यतिबेला मरिमेटेर लागिरहेको छ । केहि बर्षको अन्तरपछि पर्दामा पुनरागमन गर्दै गरेकी अभिनेत्री तथा निर्मात्री श्वेता खड्का आफ्नो फिल्मलाई दर्शकले साथ र माया दर्शाउनेमा ढुक्क छिन्, विभिन्न अन्तर्वार्ता तथा औपचारिक र अनौपचारिक भेटघाटमा उनले यो कुराहरु बोल्दै पनि आइरहेकी छिन् ।
आकाश अधिकारी निर्देशित फिल्मले सामाजिक कथा बोल्छ । फिल्ममा श्वेतासँगै दयाहाङ राइ, प्रज्वल सुजल गिरी, भुमिका श्रेष्ठ, अनु शाह, आशान्त शर्मा, कामेश्वर चौरासिया लगायत लिड रोलमा छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मको गीत संगीतले एक प्रकारको हाइप बनाइसकेको छ । आउँदो शुक्रबार अर्थात फागुन ४ बाट फिल्म दर्शकमाझ आउँदैछ ।