अपाच्य शब्दको भण्डार, ट्रेलरमा यस्तो छ विवादित ‘गाँजा बाजा’
टाइटल दर्ताको समयदेखि नै विवादमा आएको फिल्म ‘गाँजा बाजा’को ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा भल्गर शब्दहरु हाबी छन् । नेपाली समाजमा अपाच्य मानिने केहि त्यस्ता शब्दहरुलाई फिल्मको ट्रेलरमा प्राथमिकता दिईएको छ । ट्रेलर परिवारका सदस्यहरुसँगै बसेर हेर्न नमिल्ने बनाइएको छ ।
भल्गर शब्दहरुकै कारण बर्ष लामो लफडामा परेको फिल्म पुनः सेन्सरको समयमा पनि विवादमा मुछिने निश्चित छ । त्यसो त निर्देशक गणेशदेव पाण्डे प्रायः विवादमा परिरहने फिल्म मेकरमा गनिन्छन् । यसअघि उनको फिल्म ‘मञ्जरी’ पनि सेन्सर झमेलामा परेको थियो ।
ट्रेलरमा भल्गर वर्डहरु समावेश गरेकै कारण युवा दर्शक मल्टिप्लेक्स हलमा आकर्षण हुने भ्रममा निर्माण टिम परेको देखिन्छ । लिड कलाकार सुशील सिटौला, वर्षा शिवाकोटी, रविन थापा, अनुपम शर्मा,उद्धवराज भट्टराई, गोपाल अर्याल, सुष्मा पाख्रिन, प्रकाश भुजेल लगायत लिड रोलमा छन् ।
निर्देशक पाण्डेकै कथामा बनेको फिल्मलाई गोमा विष्ट र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । निख र जाताको संगीत रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । फिल्मको ट्रेलर कृष्ण भण्डारीले काटेका हुन् ।