राजधानीमा ‘कृ’ ले राख्यो नयाँ किर्तिमान,अनमोल भेट्दा फ्यानहरुको रुवाबासी
प्रदर्शनको दोश्रो दिन फिल्म ‘कृ’ले किर्तिमानी कायम गरेको छ । राजधानीका केहि पर्दामा आजका दिनसम्म नभएको दृश्यहरु देखिए, ‘कृ’ दिनभरजस्तो हाउसफूल बन्दा अनमोल हल-हलमा पनि पुगे, दर्शकसँग नजिकबाट साक्षात गरे ।
चावहिलमा अवस्थित गोपिकृष्ण मुभिजका ६ पर्दा हाउसफुल बनेका छन् । शनिबार दिउँसो २ बजेको शो मा गोपिकृष्णमा रहेका सात पर्दा मध्ये ६ वटा पर्दा हाउसफुल बन्दा नयाँ रेकर्ड बनेको छ । आजका दिन सम्म कुनै पनि नेपाली फिल्मप्रति उक्त हलमा यो प्रकारले दर्शक उर्लेको तथा ६ वटा पर्दा एकसाथ हाउसफूल बनेको यो पहिलो पटक हो ।
त्यस्तै बालाजु स्थित अष्टनारायण हलमा शनिबार दिनभर सबै पर्दा हाउसफूल रहे । अष्टनारायण हलमा रहेका चार वटै पर्दा दिनभर हाउसफूल बनेको पनि यो पहिलो रेकर्ड हो । दुबै हलमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ ले किर्तिमान कायम गर्न सफल भएको छ । यी हलसँगै राजधानी र यो आसपासका सबैजसो हलहरु ‘कृ’ हेर्ने दर्शकले भरिएका छन् ।
मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्स, बिग सिनेमा, एफक्यूव सबैतिर शनिबार दिनभर सबै शोजहरु हाउसफूल रहेको रिपोर्ट प्राप्त छ । फिल्मले शनिबार मात्रै डेढ करोड माथीको ग्रस बिजनेस गरेको अनुमान छ । सुरेन्द्र पौडेल निर्देशित फिल्मलाई सुबास गिरी र भुवन केसीले निर्माण गरेका हुन् । अनमोलसँगै अदिती बुढाथोकी, अनुपबिक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना लगायत फिल्ममा लिड रोलमा छन् ।
यसैबीच शनिबार दिउँसो गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा अनमोल पुगेका छन् । अनमोल पुग्दा उनको प्रतिक्षामा रहेका सयौं दर्शकले घेरेका थिए । उनलाई सुरक्षा गार्डहरुले मुश्किलले सुरक्षित राखेर बाहिर निकालेका थिए । दर्शकसँग पुग्दा अनमोलले सेल्फी लिए । नजिक रहेका दर्शक तथा फ्यानहरुलाई हातमा हात दिएर माया दर्शाए । उनको सुरक्षा सघाउमा नेपाल प्रहरीको टोली पनि सँगसँगै हलमा पुगेको थियो ।
अगाडि प्रहरीको भ्यान र पछाडि ६ जना बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदितीलाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे परेको थियो । अनमोललाई देखेर धेरै यूवती रोएका थिए भने कतिपयले अटोग्राफ मागे । गाडीबाट हलसम्म पुग्न अनमोललाई लामो समय लाग्यो । दर्शक गाडीमै चढेपछि अनमोल बाहिर निस्किएर सबैलाई अभिवादन गरे र धन्यबाद भनेका थिए ।
दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए । अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए । आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद दिए । उनले, आफ्नो कामका कारण दर्शकले आफूलाई यति धेरै माया गरेको हुनसक्ने बताए । नायिका अदिती वुढाथोकीले दर्शकको यस्तो माया पाउँदा खुशी लागेको बताइन् ।
यस्तै, काठमाण्डौको अष्टनारायण हलमा भने अनमोल चलचित्रको ब्रेकमा हल भित्रै प्रवेश गरेर दर्शकलाई धन्यवाद दिएका थिए । अनमोल एक्कासी हलमा पुग्दा दर्शक ‘अनमोल अनमोल’ भनेर चिच्याएका थिए । बच्चादेखि यूवायूवतीहरु उनीसँग सेल्फी खिच्न लालायित देखिए ।
गोपिकृष्ण हलमा अनमोलले सयौं फ्यानहरुसँग राष्ट्रिय गीत समेत गाए । राष्ट्रियता भित्रैदेखि व्यक्त भएको र आफ्नो अनि मासमा देखिएको जोशलाई आत्मसाथ गर्दै राष्ट्रिय गीत गाएको अनमोलले तर्क गरे । उनिसँगै रहेकी अभिनेत्री अदिती बुढाथोकीले पहिलो फिल्ममा दर्शकबाट पाएको साथ र मायाले उत्साहित रहेको बताइन् ।
र यो पनिः