Logo

अनमोल र अनुपलाई तारिफ, जान्नुहोस् ‘कृ’ को ओपनिङ बिजनेस (वक्सअफिस)

बर्ष २०७४ कै सर्वाधिक प्रतिक्षित मानिएको फिल्म ‘कृ शुक्रबारबाट प्रदर्शनमा आएको छ । युवा स्टार अनमोल केसी करिब २ बर्षपछि पर्दामा आउँदा उनको फिल्मलाई लिएर दर्शक तथा फिल्म चिन्तक अनि फिल्मकर्मीमा निकै चासो र उत्साह बढेको थियो । रिलिजको ओपनिङ डे फिल्मको बिजनेस कस्तो रह्यो धेरैमा चासोको विषय हुनसक्छ ।

राजधानीका मल्टिप्लेक्स सहित केहि सिंगल स्कृन हाउसफुल बन्दा कतै विहानीको शो सर्वाधिक सफल बन्यो त कतै दिवा शोज मा दर्शकको भिड देखियो । फिल्मले शुक्रबार देशभर ६० प्रतिशत आसपासको ओपनिङ अकुपेन्सी कायम गरेको छ ।

चाबहिल स्थित गोपिकृष्ण हलमा फिल्मको पहिलो शो बम्पर बन्यो । चार पर्दा हाउसफुल बने । त्यसपछि ११ बजेको शोमा दर्शकको साथ मध्यम मात्र रहँदा दिवा शोजमा गोपिकृष्ण च्यानको ठुलो पर्दा मानिने गोपि र १२० आसपास सिट संख्याको शिवाय हाउसफुल बन्यो । साँझको शो मा पनि दर्शकको साथ मध्यम देखिएको हल सञ्चालकबाट जानकारीमा छ ।

त्यस्तै राजधानीको अर्को ठुलो हल मानिने अष्टनारायण हलमा फिल्म दिवा शो मा हाउसफुल बन्यो । बिहानी शो मा ३० प्रतिशत मात्रै पाईएको अकुपेन्सी साँझसम्म फिल्म चल्दै गर्दा औसतमा ५५ प्रतिशत जस्तै रह्यो ।

मल्टिप्लेक्समा फिल्मको बिहानी शोज हरु राम्रो रहेनन् । चिसो मौसम तथा माघ सकिनै लाग्दा राजधानीबाट नहटेको जाडोको प्रभाव हलमा देखिएको छ । अनमोल केसी भनेपछि मरिहत्ते गर्ने फ्यानहरु मात्रै ‘फर्स्ट डे फर्स्ट शो’ पर्खेर हलमा आएको पाईयो । तर दिवा शोजमा भने राजधानीका नाम चलेका मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्स च्यान अन्तर्गतको सिभिल मल र लाबिङ मलमा दर्शकको चाप बढेको थियो । केहि शोज हरु हाउसफुल बने । कुमारी हल र जयनेपाल हलमा फिल्मले दर्शकको साथ औसत मात्रै पायो ।

मोफसलमा फिल्मको बिजनेस निर्माण टिमले सोचे अनुसारको रहेन् । पोखरा, चितवन र बुटवलमा फिल्मको औसत अकुपेन्सी ५० प्रतिशत मात्रै देखिएको छ भने दाङमा ७० प्रतिशत आसपासको अकुपेन्सी फिल्मले आफ्नो पक्षमा कायम गर्न सफल भएको छ । पुर्वी नेपालका स्टेशनहरुमा पनि फिल्मको ओपनिङ उत्साहप्रद पाईएन ।

शनिबार फिल्मले बम्पर बिजनेस गर्ने निर्माण टिमको आशा छ । निर्माता तथा अनमोल पीता भुवन केसीले शनिबार देशभरका पर्दाहरु हाउसफुल हुने विश्वास व्यक्त गरे । राजधानीका मल्टिप्लेक्स अन्तर्गतका अधिकांश पर्दाहरु शनिबारको शोजहरुको लागी शुक्रबार नै अग्रिम बुकिङमा हाउसफूल बन्ने क्रममा छन् ।

रिलिज पहिलेको प्रचार हाइप तथा चर्चा र परिचर्चा अनुसार फिल्मको ओपनिङ हुन नसकेको फिल्म विश्लेशकहरु बताउँछन् । फिल्म हेर्ने अधिकांश दर्शकले अनमोल र खलपात्रको भुमिकामा रहेका अनिपबिक्रम शाहीको कामलाई मुख्यतः तारिफ गरेका छन् । युवती फ्यानले अनमोलको लुक्सलाई प्राथमिकता दिँदा अनुपको एक्सन र लुक्स दुबै मन पर्यो भन्न बिर्सेका छैनन् । पुरुष दर्शकले भने अनमोललाई भन्दा बढि अनुपको कामलाई तारिफ दिएका छन् । अभिनेत्री अदिती बुढाथोकी स्टारको ट्याग पाएका दुई ‘अ’को छायाँमा परेकी छिन् ।

पहिलो दिन फिल्म प्रति उत्साह र चासो १५ देखी २५ बर्ष उमेर समुहका दर्शकबाट बढि देखिएको छ । मल्टिप्लेक्स तथा सिंगल स्कृन सबैतिर धेरै मात्रामा किशोर किशोरी तथा युवा युवतीहरुको भिड शुक्रबार देखिएको थियो । देशभरका १०० बराबर पर्दामा फिल्म लाग्दा स्टारडमको ब्राण्ड बनिसकेका अनमोल र अदिती अनि अनुपको अभिनयप्रति चासो दर्शकमा उत्तिकै बढिरहेको छ । यसको प्रभाव शनिबार खास देखिने निश्चित छ ।

यतिबेला सामाजिक सञ्जालका भित्ताहरुमा फिल्मलाई लिएर विभिन्न रुपका कमेन्ट तथा स्टाटसहरु व्यक्त भइरहेका छन् । फिल्ममा निर्देशकको काम भन्दा सिनेमाटोग्राफीलाई बढि मन पराइएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्मलाई समिक्षकहरुबाट भने सुखत प्रतिक्रिया मिलेको छैन् । कामेश्वर चौरासियाको अभिनयलाई पनि फिल्म हेरेर बाहिर निस्किसक्दा दर्शकले ‘नोटिस’ गरेका छन् । भुवन केसी र सुबास गिरी फिल्म ‘कृ’का निर्माता हुन् ।

पछिल्ला सबै फिल्ममा भन्दा खरो मेहनत देखाएका अनमोलको कामलाई सबैजसो दर्शकले तारिफ गरेका मात्रै छैनन्, चकलेटी लुक्सका कारण ‘लभर ब्वाइ’ मा मात्रै देख्दै आएका दर्शकले अनमोल एक्सन अबतारमा पनि फिट रहेको प्रतिक्रिया दिएका छन् । अनमोल स्टारर फिल्म ‘गाजलु’ निर्माता रोहित अधिकारीले अनमोलको कामलाई प्रशंसा गरे । आफ्नो फिल्मबाट ‘कृ’सम्म आइपुग्दा थप उनले निकालेको कामले अनमोललाई ‘लङ रेसको घोडा’को रुपमा प्रमाणित गरेको उनको भनाई छ ।

Comments