Logo

सारासँग रोमान्सलाई सलोन तयार, प्रियंका आइटम गर्ल !

सुब्रतराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म ‘सुश्री सम्पति’को अफिसियल निर्माण घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा सँगै लिड कलाकारहरु सार्वजनिक भए । फिल्ममा सलोन बस्नेत, सारा शिर्पाली, बिनोद न्यौपाने लिड रोलमा हुनेछन् भने अभिनेत्री प्रियंका कार्की अतिथी भुमिकामा रहनेछिन् ।

फिल्म आउँदो फागुन १५ बाट फ्लोरमा जाने निर्देशक आचार्यले बताए । सोमबारबाट राजधानीमा वर्कसप सुरु हुनेछ । रमेश त्वायनाको निर्माणमा बन्न लागेको फिल्मको सम्पुर्ण छायाँकन पोखरामा हुनेछ भने एक गीतलाई राजधानीमा खिचिनेछ ।

उल्लेखित कलाकारसँगै राजाराम पौडेल, विशारत बस्नेत, जयनन्द लामा, सुनिता श्रेष्ठ, रोशनी केसी, रञ्जित कोएराला, विनोद पौडेल, सन्तोष खनाल लगायतको अभिनय फिल्ममा समेटिनेछ । सुरेश अधिकारीले संगीत भर्ने फिल्मलाई अर्जुन तिवारीले खिच्नेछन् । कविराज गहतराजले कोरियोग्राफीको जिम्मा सम्हाल्ने छन् ।

यसअघि ‘अधकट्टी’ नामको फिल्म निर्देशन गरिसकेका निर्देशक आचार्यले ‘सुश्री सम्पति’लाई राम्रो रस्तरिय फिल्म बनाउन कुनै कसुर बाँकी नराख्ने बताए । ‘फिल्म निर्माण भनेको टिमवर्क हो, राम्रो टिम रहँदा उत्कृष्ट नतिजा निस्किनसक्छ, हाम्रो मेहनत टिमवर्कमा हुनेछ आफ्नो आफ्नो ठाउँमा सबैजना अब्बल सदस्य रहँदा फिल्म दर्शकको मन जित्ने बन्नेमा आशावादी छु’, आचार्यले भने ।

कलाकार द्वय सलोन र साराले फिल्मलाई लिएर उत्साहित रहेको बताए । पर्दामा अन स्कृन कपल जम्नेमा विश्वास लिएका दुबैले एक अर्काको साथ र सहयोगमा यसअघिका अनुभवलाई लिएर उत्कृष्ट काम पस्किने बोले । कमेडी जनरामा बन्ने फिल्मलाई अर्को बर्षको तीजको छेकोमा भदौमा रिलिज गर्ने घोषणा निर्माण टिमले गरिसकेको छ । गोपालकाजी कायस्थले फिल्मको वितरण जिम्मा लिइसकेका छन् ।

विज्ञान राई, नुनाम सुब्बा, रमन सिलाकारको समेत लगानी रहने फिल्ममा अभिमन्यू निरबीको पटकथा समावेश हुनेछ भने अभिमन्यू र सुव्रतराज आचार्यले संवाद लेखनमा साझेदारी गर्दैछन् । भरत रेग्मीले फिल्म सम्पादन गर्नेछन् । उता कार्यक्रममा आफ्नो भुमिकाबारे खुल्न नचाहेकी प्रियंका कार्कीको यो फिल्ममा आइटम नृत्य मात्रै रहने रहस्य खुलेको छ । तर यो विषयमा निर्माण टिमले पनि मुख खोलेको छैन् ।

Comments