Logo

‘फाटेको जुत्ता’ हङकङ प्रदर्शनीबाट ओमदेवीको जीवन रक्षामा ५ लाख सहयोग

केहि महिना पहिले रिलिज फिल्म ‘फाटेको जुत्ता’को हङकङ प्रदर्शनीमा उठेको रकम सामाजिक कार्यमा खर्चिएको छ । नेपाली फिल्मको बजार विस्तार तथा अन्तर्राष्ट्रियकरणको लागी लामो समयदेखि अग्रसर विनय शाहले फिल्मको प्रदर्शनीपछि सङ्कलित रकम दुबै मृगौला फेल भई जीवन मरणको दोशाधमा रहेकी नेपाली चेली ओमदेवी गुरुङको उपचारको लागी हस्तान्तरण गरेको जनाएका छन् ।

विनयले फेसबुकमा लेखेका छन् ‘ नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ को आज हङकङमा भव्य प्रदर्शन भएको छ । दुवै मृगौला काम नलाग्ने भएर रोगग्रस्त हुनुभएको ओमदेवी गुरूङलाई औषधी उपचारको लागि यस फिल्म प्रदर्शनबाट संकलित रकम नेरू ५ लाख कार्यक्रम स्थलमै डमी चेकको रूपमा हङकङ नेपाली युवा संघका अध्यक्ष श्री विक्की गुरूङले पिडितका आमालाई बुझाउनु भयो ।’

यस्तै उक्त कार्यक्रममै भिरकोट आर्थर तमु समाज स्याङ्जा, हङकङले पनि हङकङ डलर १०८२६ सहयोग प्रदान गरेको विनयले लेखेका छन् । विनयले ओमदेवीको जीवन रक्षाको पक्षमा उभिने युवा संघलाई तथा हङकङ प्रदर्शनीको लागी फिल्म उपलब्ध गराउने निर्माता अर्जुनकुमारलाई साधुवाद भनेका छन् ।

निकेश खड्का निर्देशित फिल्मले नेपाली बक्सअफिसमा राम्रो विजनेस गरेको थियो । यतिबेला यो फिल्म विदेश प्रदर्शनीको क्रममा छ । निर्माता अर्जुनकुमारले आफ्नो फिल्म प्रदर्शनीबाट उठेको रकम कसैको जीवन रक्षाको लागी खर्च भएकोमा खुशी व्यक्त गरे । सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियंका कार्की, रविन्द्र झा यो फिल्ममा लिड अभिनयमा छन् ।

Comments