Logo

दोश्रो हप्तामा ‘पिंजडा ब्याक अगेन’, पहिलो साताको बिजनेस कति ?

एक्सन स्टारर निखिल उप्रेती अभिनित फिल्म ‘पिंजडा ब्याक अगेन’ले प्रदर्शनको दोश्रो हप्ता प्रवेश गरेको छ । फिल्म दोश्रो सातामा आउँदा देशभरका ६० बराबर हलमा प्रदर्शन भइरहेको वितरक गोपालकाजी कायस्थले बताए । बलिउडको चर्चित फिल्म ‘पद्मावत’ले मल्टिप्लेक्स कब्जा गर्दा सिंगल स्कृनमा भने निखिलको फिल्मलाई फाइदा पुगेको छ ।

निर्माण टिमले पहिलो हप्ता दर्शकबाट पाएको साथबाट उत्साहित बताएको छ । तथापी निर्देशक हिमाल केसीसँगै अभिनेता निखिल भने यतिबेला जापानमा छन् । यहि जनवरी २८ अर्थात आइतबार जापानको टोकियोमा हुने फिल्मको पहिलो डायस्पोरा प्रिमियरमा सहभागी हुन निर्देशक केसी र एक्सन स्टार निखिल जापान पुगेका हुन् । हिमाल र निखिलसँगै अभिनेत्री सञ्चिता लुईंटेल पनि जापानमा छिन् ।

श्रीराम बरालको प्रस्तुतीमा तयार फिल्मले पहिलो हप्ता कति कमायो त ? यो विषयमा सम्पर्क गर्दा वितरक गोपालकाजी मौन बसे । तर हल सञ्चालक तथा वितरण श्रोतको आंकडा अनुसार फिल्मले पहिलो हप्तामा ८७ लाखको ग्रस विजनेस गरेको छ । देशभरका ७० बढि पर्दामा फिल्म रिलिज भएको थियो ।

फिल्म हेर्ने सिंगल स्कृनका दर्शकले मन जितेको प्रतिक्रिया दिएका छन् । एक्सन निर्देशनमा कहलिएका हिमालको ठुलो पर्दाको निर्देशकिय कामलाई धेरै दर्शकले तारिफ गरेका छन् । रिलिजपुर्व राजधानीमा गरिएको प्रिमियरमा पनि हिमालले तारिफ भेटेका थिए । अभिनेत्री सारा सिर्पालीको काम फिल्ममा सबैभन्दा प्रशंसा गर्न लायक देखिएको छ ।

निखिल र सारासँगै ज्याक श्रेष्ठ, पुकार भट्टराई, सुस्मिता केसी, प्रदिप दाहाल, विना केसी लिड रोलमा रहेको फिल्ममा रोहित पुरी र गोविन्द गैरेको लगानी छ । फिल्ममा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् भने फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मलाई सौरभ लामाले खिचेका हुन् । मौनता श्रेष्ठको कथा फिल्ममा समावेश छ ।

Comments