Logo

चार हप्तामा ६ फ्लप, फिल्ममा लगानी बालुवामा पानी !

नेपाली फिल्म क्षेत्रको लागी प्रायः पौष सुखद बन्दैनन् । पछिल्ला धेरै बर्षको उदाहरण हेर्ने हो भने पनि यो महिना फिल्म क्षेत्रको लागी अभिषाप बन्दै आइरहेको छ । केहि बर्ष पौष २४ मा रिलिज ‘छ एकान छ’ फिल्मलाई अपबाद मान्दै गर्दा यो बीचमा अन्य कुनै पनि फिल्म यो महिना रिलिज भएर चलेका रेकर्ड छैनन् । पछिल्लो पटक रिलिज ‘मिस्टर झोले’ले मात्र आफ्नो साख जोगाउन सफल रह्यो ।

नेपाली फिल्म उद्योगको लागी भर्खरै वितेको महिना पौषको समिक्षा गर्ने हो भने यो महिना आधा दर्जन बराबर फिल्म फ्लप सुचीमा रहे । पौष १४ मा रिलिज ‘मन त परदेशी’ र ‘हेप्पी न्यू इएर’ले पानी भन्न पाएनन् । अष्ट्रेलियामा छायाँकन गरिएको भन्दै दर्शकलाई फालिएको ललिपपले काम नगर्दा अभिनेता तथा निर्माता कुशल थापा पुनः एक पटक असफलताको स्वादमा परे । यसैको निरन्तरता ‘मन त परदेशी’मा पनि भयो ।

त्यसपछि पौष २१ मा दुई फिल्म रिलिज भए । ‘राज्जा रानी’ र ‘फिर्के’ । फिर्के रिलिजको हप्ताभरी १० लाख पनि उठाउन नसक्ने सुचीमा पर्यो । अर्को फिल्म ‘राज्जा रानी’ले पनि लगानी उठाउन सकेन । ‘रुद्रप्रिया’ निर्माता रमेश एमके पौडेलको लगानी पुनः एक पटक बालुवामा पानी बन्यो । हेर्ने दर्शकले मिश्रित प्रतिक्रिया दिएपनि हल भरिएनन् ।

त्यसपछि पौष २८ मा ‘बटरफ्लाई’ र ‘मिस्टर झोले’ रिलिज भए । ‘मिस्टर झोले’ले निर्देशक रामबाबु एण्ड कम्पनिको साख जोगायो । फिल्मले हिट लिस्टमा नाम चढाउन सफल भयो । उता ‘बटरफ्लाई’ले भने करियरकै दोश्रो फिल्म लिएर दर्शकमाझ आएका अभिनेता आर्यन अधिकारीलाई न्याय गर्न सकेन या आर्यनले दर्शकलाई न्याय गर्न सकेनन् फिल्मले कमाल गर्न सकेन । अभिनेत्री प्रियंका कार्कीको करियरमा अर्को फ्लप फिल्म थपियो ।

त्यसपछि माघ ४ मा आउँदा पनि दुई फिल्म रिलिज भए । हलमा प्रदर्शनरत फिल्म ‘पिंजडा ब्याक अगेन’ले मिश्रित प्रतिक्रिया पाएको छ । दर्शकको साथ मध्यम छ । पहिलो दुई दिनमा ६६ लाखको ग्रस विजनेस गरेको फिल्मको त्यसपछिको व्यापारिक आंकडा प्राप्त छैन् । फिल्म दोश्रो हप्तामा प्रवेश गरेको छ । करोड आसपास भनिएको लगानी रिकभर गर्न यो फिल्मलाई पनि हम्मे हम्मे देखिन्छ । तर यो फिल्मसँगै रिलिज भएको ‘लालपुर्जा’ले फ्लपको ट्याग पाईसकेको छ । फिल्म धेरै हलहरुबाट उत्रिसकेको छ ।

उल्लेखित आँकडा हेर्ने हो भने पछिल्लो चार हप्तामा ६ फिल्मले फ्लपको ट्याग पाएका छन् । सबैबाट कम्तिमा ४ करोड माथीको लगानी बालुवामा पानी बनेको छ । फिल्म राम्रो दिन सकेनन् या रिलिजको लागी राम्रो मिति रोज्न सकेनन् त्यो निर्माता निर्देशकमा भर पर्छ तर बिर्सिन नहुने कुरा यो हो कि राम्रो विषयवस्तुमाथी राम्रो प्रस्तुती दिँदा फिल्म रिलिजको लागी पक्का साईत हेर्नु पर्दैन् ।

Comments