Logo

फ्लप सुचीमा ‘लालपुर्जा’, कस-कसलाई लाग्यो झट्का ?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लालपुर्जा’ले पहिलो हप्तामै फ्लप फिल्मको ट्याग पाएको छ । मल्टिप्लेक्स तार्गेटेड भनिएको फिल्म क्युएफएक्समा एक हप्तासम्म टिक्नसम्म सकेन । दर्शकले नपत्याएपछि सिट खाली हुँदा सञ्चालकले हलबाट फिल्म नै उतारेका छन् ।

निर्माण टिमले रिलिज पहिले पोखेका आश्वासन झुठा बनेका छन् । वितरक सुनिल मानन्धरले फिल्मको विजनेस बताउन लायक नभएको स्विकार गरे । रिलिजको एक हप्ता पुग्दै गर्दा फिल्म धेरै हलबाट उत्रिसकेको छ । मल्टिप्लेक्समा प्रदर्शनको समयमा एक शो पनि हाउसफूल नभएको हल सञ्चालकले बताए ।

फिल्मको असफलतासँगै अभिनेता सौगात मल्ललाइ अर्को झट्का लागेको छ । सोलो हिरो बन्दा प्रायः फिल्ममा असफल बन्दै आएका सौगातको स्टारडमलाई यो पटक पनि दर्शकले बलियो आधार मान्न सकेनन् । सौगातसँगै विपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया लगायत फिल्ममा लिड रोलमा छन् ।

यो फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री मिरुनालाई पहिलो गाँस मै झड्का लागेको छ । उता पछिल्लो पटक महंगो अभिनेताको रुपमा चर्चामा आएका विपिन कार्कीको स्टारडमको मापन पनि यहि फिल्मले गरिदिएको छ ।

निर्देशक निगम श्रेष्ठ पुनः एक पटक असफल बनेका छन् । उनको यसअघि ‘छड्के’ फिल्मले दर्शक भड्काएको सम्म आरोप खेपेको थियो । फिल्मलाई विक्रमसिंह थारु र उमेश श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । थारुकै कथामा बनेको फिल्मको मुख्य कमजोरी कथालाई नै देखाउँदै समिक्षकहरुले आलोचना गरेका छन् ।

Comments