Logo

प्रदिप र पलपछि आकाशसँग पूजाको रोमान्स पक्का

अभिनेत्री पूजा शर्माको निर्माणमा बन्ने फिल्म ‘रामकहानी’को घोषणा भएको छ । फिल्मका मुख्य कलाकारहरु पनि तय भइसकेका छन् । फिल्ममा पूजा स्वयम लिड रोलमा हुनेछिन् भने उनको अपोजिटमा ‘म त तिम्रै हुँ’ डेब्यू ब्वाई आकाश श्रेष्ठ रहने पक्का भएको छ ।

यो सँगसँगै पूजाले लगातार तीन फिल्ममा भिन्न भिन्न अभिनेतासँग स्कृन सेयर गर्ने भएकी छिन् । ‘प्रेमगीत’ मा प्रदिप खड्कासँग देखिएकी पूजाले ‘म यस्तो गीत गाउँछु’मा पल शाहसँग जोडी बाँधेकी थिइन् । अब आकाशसँगको केमेष्ट्रि कस्तो जम्छ त्यो भने समयले बताउनेछ ।

सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्ममा यसअघि नै माग्नेबुढा उर्फ केदार घिमिरे र जितु नेपाल फाइनल भइसकेका छन् । केदारले १० लाख पारिश्रमिक लिएर अनुबन्ध भएको खबरले पछिल्लो हप्ताभर मिडियामा चर्चा पाएको थियो भने जितुले पनि ७ लाख पारिश्रमिक लिएको खबर बाहिर आएको छ ।

माघ अन्तिम साताबाट फ्लोरमा जाने बताइएको फिल्ममा विल्सन विक्रम राई र रविन्द्र झा पनि फाइनल भइसकेको निर्माण टिमले बताएको छ । उल्लेखित कलाकारहरुको उपस्थितीले नै फिल्म पुर्णतः कमेडी जनरामा बन्न लागेको संकेत दिन्छ । निर्देशक थापाले यसअघि लभ स्टोरी प्याटनमा फिल्म बनाउँदै आएका थिए । लभ स्टोरी जनरामा अब्बल मानिने सुदर्शनको पाइलाले कमेडी जनरामा कुन गति लिन्छ त्यो भने फिल्म रिलिजपछि मात्रै पत्ता लाग्नेछ ।

Comments