नेफ्टा फिल्म अवार्ड: दशौं संस्करण घोषणा
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा फिल्म अवार्डको दशौं संस्करण घोषणा भएको छ । आगामी फागुन ३० गते अवार्ड समारोह हुने प्राप्त जानकारीमा उल्लेख छ ।
पछिल्लो केहि बर्षयता लगातार विदेशमा हुँदै आएको अवार्ड समारोह यो पटक पनि विदेशमै हुने बताईएको छ । यद्धपी अवार्ड हुने ठाउँ र देशको नाम प्राप्त छैन् । आयोजक संस्थाका अध्यक्ष पुष्कर लामाले अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक हुने मितिमा कार्यक्रम हुने ठाउँ सार्वजनिक गर्ने बताए ।
आउँदो सातादेखि पाँच सदस्यीय जुरी टिमले फिल्म मुल्यांकनको काम सुरु गर्ने बताइएको छ । जुरीमा को को सहभागी छन् पनि खुलाईएको छैन् । दुई सातापछि नै अवार्ड समारोहमा सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् ।
अवार्डको एघारौं संस्करण आगामी दशैं अगाडि नै आयोजना हुने जनाइएको छ । ‘हामी अब लगातार हुने दुबै अवार्डको तयारीमा जुटिसकेका छौं’ अध्यक्ष लामाले भने, ‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं ।’
चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ । नेफ्टाले विदेशमा अवार्ड आयोजना हुनुलाई अन्तराष्ट्रियकरणको यात्राको रुपमा बताएको छ । नेपाली फिल्मको बजारिकरण र कला संस्कृतिको पहिचानमा विदेशमा हुने कार्यक्रमले टेवा थप्दै आएको नेफ्टाको निष्कर्ष छ ।
(तश्विरमा पछिल्लो बर्ष सम्पन्न नेफ्टा अवार्डसँग सम्बन्धित विभिन्न झलकहरु)