‘प्याडम्यान’ रिलिज सर्यो, अनमोल भर्सेज अक्षयकुमार भिडन्त पक्का
केहि दिन पहिले मात्रै बलिउड फिल्म ‘पद्मावती’ उर्फ ‘पद्मावत’को रिलिज कन्फर्म भयो । पछिल्लो समय सर्वाधिक चर्चित अनि प्रतिक्षित बनेको फिल्मको रिलिज कन्फर्म भएपछि उक्त फिल्मको प्रतिस्पर्धा स्टार अभिनेता अक्षयकुमार स्टारर ‘प्याडम्यान’सँग हुने पक्का भएको थियो । फेब्रुअरी २५ मा यी फिल्म पर्दामा आमन्ने सामन्ने हुने चर्चा चल्यो । अब भने ‘प्याडम्यान’को रिलिज हेरफेर भएको छ ।
बलिउड अनलाईन बलिउड भाष्कर डटकममा उल्लेखित समाचार अनुसार यो फिल्म फेब्रुअरी २५ बाट सरेर फेब्रुअरी ९ मा आएको छ । यो मितिमा नेपालको यो बर्षकै प्रतिक्षित फिल्म ‘कृ’ रिलिज हुनेछ । जसले अब नेपाली पर्दामा बलिउड स्टार अक्षयकुमार भर्सेज नेपाली युवा स्टार अनमोल केसीको भिडन्त पक्का भएको छ ।
यसअघि माघ २६ (फेब्रुअरी ९) लाई ‘कृ’ ले रिलिज तोक्दा प्रतिक्षित मध्येको एक नेपाली फिल्म ‘कान्छी’ले रिलिज सारेको थियो । उक्त मितिमा बलिउडमा कुनै ठुला फिल्म रिलिज पक्का थिएन् । अब भने अक्षयकुमारको फिल्म रिलिज पक्का भएसँगै नेपाली मल्टिप्लेक्समा बलिउड भर्सेज नेपाली फिल्म हुने देखिएको छ ।
‘कृ’ यसै पनि दर्शकमाझ सर्वाधिक प्रतिक्षित बनिसकेको छ । फिल्मको यसअघि रिलिज ‘ट्रेलर’ र ‘यति यति पानी’ बोलको गीतले मार्केट तताईसकेको छ । लामो समयपछि पर्दामा आउँदै गरेका स्टार अभिनेता अनमोल र उनको यो फिल्मलाई लिएर दर्शक उत्साहित बन्दै जाँदा, प्रतिक्षाको घडी बढ्दै जाँदा भिडन्त रोचक बन्नसक्छ ।
अक्षयकुमार पनि नेपाली मल्टिप्लेक्समा बिक्ने नाम हो, भने नेपाली स्टार अनमोलको नाममै पनि फिल्म बिकेका उदाहरण छन् । त्यसो त यसअघि अनमोलको फिल्म चल्दै गर्दा नेपाली पर्दामा उनका फिल्मले बलिउडका फिल्मलाई बिस्थापित गरेका उदाहरण पनि छन् । त्यसैले अब अनमोलको फिल्म भर्सेज अक्षयको फिल्मको भिडन्त रोचक बन्नसक्छ ।
सुवास गिरी र भुवन केसीको निर्माणमा बनेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, अनुपबिक्रम शाही, मालेश्वर चौरासिया, सरोज खनाल लगायत लिड रोलमा छन् । एक्सनप्याक फिल्मले प्रेमकथा पनि बोल्छ । बदलाको संघर्षको कथा फिल्ममा पेश भएको निर्देशकले यसअघि नै बताईसकेका छन् ।
उता अक्षयकुमारले रिलिज हेरफेरबारे बोल्दै सञ्जयलिला भंसालीको फिल्म ‘पद्मावत’सँग आफु नै भिडन् नचाहेको बताएका छन् । निकै समस्यामा परेर रिलिजको लागी अबसर पाएको फिल्मलाई एकल रिलिज दिनुपर्ने र त्यसमा भिडन्त (क्लास) आवश्यक नभएको भन्दै अक्षयले फिल्म रिलिज सारेको बताएका छन् । स्टेटमेन्टमा अक्षयले भंसालीलाई आफ्नो साम्रो साथी पनि भनेका छन् ।