Logo

निर्देशक समाजमा भाँडभैलो,अध्यक्ष विरुद्ध बहुमत पदाधिकारी एक ठाउँमा

पछिल्लो पटक हरेकजसो कार्यसमितिमा किचलो हुँदै आएको निर्देशकहरुको छाता संगठन चलचित्र निर्देशक समाजमा पछिल्लो कार्यसमितिमा पनि असन्तुष्टीका स्वरहरु बाहिर निस्किन थालेका छन् । अध्यक्ष सुचित्रा श्रेष्ठले कार्य शैलीबाट रुष्ट बन्दै पदाधीकारी सहितका ११ सदस्यले गोप्य भेला डाकेका छन् ।

फिल्मीनेपाललाई प्राप्त जानकारी अनुसार मुख्य पदमा आशिन पदाधिकारी सहितको ११ जनाको टिमले अध्यक्षको बिरुद्धमा हस्ताक्षर संकलन समेत सुरु गरिसकेको छ । कार्यसमितिमा रहँदा पदाधीकारीहरुले बैठकमा राखेको प्रस्ताव उपर अग्रसरता नदेखाएको, आर्थिक हिसाब किताबको काम कोषाध्यक्ष सम्म नपुग्दै गायब गरेको जस्ता आरोपहरु अध्यक्ष बिरुद्ध लागेको छ ।

३ बर्षे कार्यकालको लागी निर्वाचित कार्य समितिको आधा समय गुज्रिसक्दा यो अवधीभर समाज र समाजसँग जोडिएका सबै काम एकलौटी रुपमा गर्दै आएको र कार्यालय सञ्चालनको हिसाब माग्दासम्म कर्मचारीले गडबड गरेको जस्ता कमजोर जवाफ फर्काउँदै आएको आरोप अध्यक्ष सुचित्रामाथी लागेको छ । सुचित्राले समाजको अध्यक्ष पदलाई भजाएर व्याक्तिगत हितका काम गर्दै हिँडेको आरोप पनि उनि माथी छ ।

अध्यक्षको बिरोधमा उत्रिएका ११ मध्येका एक सदस्यले १५ सदस्यिय कार्यसमितिमा १३ जना एक ठाउँमा र अध्यक्षको पक्षमा उनि सहित एक जना मात्रै रहने दाबी गरे । उनले कार्यसमितिका सबैजसो पदाधीकारी र सदस्य सुचित्राको कामबाट रुष्ट भएको भन्दै पहिलो चरणमा उनलाई राजिनामा दिनको लागी दबाब दिने तयारी भइरहेको बताए । त्यो नहुँदै गर्दा बहुमत सदस्यले सामुहिक राजिनामा पेश गरेको अवस्थामा अध्यक्षले नैतिकताको आधारमा मार्ग प्रसस्त गर्नुपर्ने हुनसक्छ ।

यो विषयमा बुझ्नको लागी पटक पटक सम्पर्क गर्दा अध्यक्ष श्रेष्ठको मोबाइल कल रिसिभ भएन । उता समाजका महासचिव गोपालचन्द्र लामिछाने भने यतिबेला अमेरिकामा छन् । उनले महासचिवको कार्यभार तत्कालको लागी सचिव शेखर खनाललाई जिम्मा दिएको बुझिएको छ ।

निर्देशक समाजका पुर्व अध्यक्ष केपी पाठकले बहुमत पदाधिकारीको राजिमाना पेश भएको खण्डमा अध्यक्ष यसै अल्पमतमा परेपछि जिम्मेबारी बिमुख रहने तर्क गरे । सो समयमा नैतिक सङ्कट आएपश्चात नैतिक राजिनामा दिनुपर्ने उनको तर्क छ । तर यो विषयमा समाजको विधान भने मौन रहेको उनको भनाइ छ । विधान मौन हुनु भनेको अध्यक्षसँग अल्पमतमा  रहँदा पनि पुर्ण अधिकार रहनु नभएको उनले बताए ।

उता चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अन्तिम समयसम्म गरेको कसरत फेल भएपछि पैसाको आडमा बोर्डको अध्यक्ष पद बेचिएको भन्दै सञ्चार मन्त्रीसँग रुष्ट बनेकी सुचित्रा निर्देशक समाजको तर्फबाट नव नियुक्त बोर्ड अध्यक्ष निकिता पौडेललाई बधाइ तथा सुभकामना दिन आयोजित कार्यक्रममा पनि उपस्थित भईनन् ।

केहि दिनयता उपाध्यक्ष रक्षासिंह राणालाई कार्यवाहक अध्यक्षको जिम्मेबारी दिएर बिरामी बिदामा बसेकी सुचित्राले आफुले निकितालाई अध्यक्ष स्विकार गर्न नसक्ने भन्दै समाजको तर्फबाट वधाई तथा सुभकामना दिने भए आफु बिदामै बसेको समयमा पदाधीकारीहरुलाई विकास बोर्ड पुग्न चेतावनीपुर्ण आग्रह गरेको श्रोत बताउँछ ।

Comments