Logo

कतारमा ‘सुपर स्टार नाइट्स’, निरुतादेखि एञ्जिलासम्मको धमाका

नेपाली कला, संकृती र सांगीतिक क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मार्च महिनाको ८ र ९ तारिखमा कतारका २ शहरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन लागेको कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।

कतारमा रहेका नेपाली तथा विदेशी संगीत प्रेमीहरुको माझ चर्चित कलाकारहरुले प्रस्तुती दिनेछन् । कार्यक्रमको लागी हाँस्य कलाकार जितु नेपाल सहित अभिनेत्री निरुता सिंह र अनु शाह नृत्य निर्देशक तथा चर्चित मोडल शंकर बिसी कतार पुग्ने पक्का भएको छ भने गायन तर्फ गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ र गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी र सेलिना कुँवरको प्रस्तुती रहने पनि पक्का भएको छ । जहाँ पुरानी अभिनेत्री निरुतादेखि पछिल्लो पुस्ताकी गायिका एञ्जिलासम्मको प्रस्तुतीले दुई पुस्ताको प्रतिनिधित्व गर्ने छ ।

बुधबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले नेपाली कला संकृतिलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए ।

मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार दर्शकको उपस्थितीमा कार्यक्रम हुने विश्वास आयोजकको छ । यस्तै, मार्च ९ मा कतारको ग्रान्ड मलमा करिब १० हजार दर्शकको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास आयोजकले लिएको धिरेन्द्रले पत्रकार सम्मेलनमा बताए ।

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गरे । उनले, दर्जन भन्दा बढी कलाकार लगेर कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेपनि आफूहरु यसमा सफल हुने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा कतारमा प्रस्तुती दिने अधिकांश कलाकारहरुको उपस्थिती थियो ।

Comments