Logo

‘कृ’ को सस्तो प्रचार, भ्यूज बढाउन लाइक र शेयरको प्रलोभन

यो बर्षको सर्वाधिक प्रतिक्षित फिल्म ‘कृ’ भएकोमा शंका छैन, कसैको दुई मत छैन । फिल्मलाई लिएर दर्शक तथा स्टार अभिनेता अनमोल केसीका सुभचिन्तकहरु जति नै प्रतिक्षित छन् त्यती नै यो फिल्मसँग जोडिएका टिजर, ट्रेलर तथा गीत जस्ता प्रचार सामग्री । केहि दिन पहिले मात्रै सार्वजनिक यो फिल्मको गीतले युट्युवमा २० लाख बढिको भ्यूज कमाइसकेको छ तर निर्माण टिम भने भ्यूज बढाउनकै लागी भनेर सस्तो प्रचार फेसबुकमा गरिरहेको छ ।

तपाईं ‘कृ’को अफिसियल फेसबुक पेजमा जानु भयो भने त्यहाँ ‘प्रायोजन’ सहित ‘पिन’ गरेर एउटा पोस्ट राखिएको छ । जहाँ पछिल्लो पटक रिलिज गीत ‘यति यति पानी’लाई लाइक शेयर र कमेन्ट गर्नेहरु मध्ये उत्कृष्ट पाँचलाई अनमोलसँग फिल्म हेर्ने अवसर प्रदान गर्ने कुरा लेखिएको छ । जुन कुरा स्टार कहलिएका अनमोलको फिल्मको हकमा अशोभनिय लाग्छ ।

अनमोलको अभिनय जोडिएका हालसम्म प्रदर्शनमा आएका सबै फिल्म हिट लिस्टमा छन्, बक्स अफिसमा ब्लकवस्टर कहलिएका छन्, त्यसैले त अनमोलको हकमा भनिँदै आईएको छ, बोलिँदै अनि लेखिँदै आईएको छ फिल्मको लागी उनको नामै काफी छ । तर ‘कृ’ निर्माण टिम भने फिल्मको गीतको भ्यूज कमाउनकै लागी दर्शकलाई प्रलोभन छोडेको छ अनमोलसँग सँगै बसेर हलमा फिल्म हेर्ने अवसर दिने भनेर, जुनकुरालाई उक्त पोस्टमा दर्शकले नै व्यङ्ग्यात्मक प्रतिक्रिया छाडेका छन् । फेसबुक प्रयोगकर्ता सन्तोष पौडेलले ‘युट्युवमा पनि कमेन्ट गर्न मिल्छ होला त ?’ लेख्दै व्यङ्ग्य प्रहार गरेका छन् ।

उक्त पोष्टमा लेखिएको छ कि ‘तपाईं आफ्नो मिल्ने साथीलाई युट्युव भिडियो खोलेर कमेन्टमा #SE र #KRI लेख्नुस् अनि ट्याग गर्दै जानुस्’, तर युट्युवमा कमेन्टमा फेसबुकमा जोडिएका या अन्य जुनकुनै साथीलाई पनि ट्याग गर्न नमिल्ने कुरामा समेत निर्माण टिमको ध्येय पुगेको छैन ।

अनमोल आफैमा ब्राण्ड बनिसक्दा उनको कुनै पनि कन्टेन्ट बिकाउनको लागी फिल्म युनिटले सस्तो प्रचार अघि सार्नुपर्ने देखिँदैन । नेपाली युट्युव ट्रेण्डिङको एक नम्बरमा यो गीतले स्थान सुरक्षित गर्दा यसका सबै सुत्रधार लाइक, कमेन्ट र शेयर नहुन सक्छन् । युट्युव ट्रेण्डिङमा आउने कुनै पनि कन्टेन्टले यसै पनि चर्चा परिचर्चा पाउँदै आएका छन् , मिडियामा समाचार बनेका छन्, सामाजिक सञ्जालमा स्थान लिएका छन्, त्यसैले पनि अनमोल जोडिएको फिल्मको कन्टेन्टलाई निर्माण टिमले भ्यूजकै लागि गरेको सस्तो प्रचारलाई फिल्मकर्मी तथा दर्शकले समेत ठट्टाका रुपमा लिँदै व्यङ्ग्य गरेका छन् ।

प्रसङ्ग अनमोल जोडिएको यो फिल्मको पोस्टरसम्म जोडौँ । ‘कृ’ को पोस्टर रिलिज हुँदा फोटो घुमाएर युट्युवमा अपलोड गरिएका भिडियोहरुले मात्रै लाखौँ भ्यूज पाएका छन् । त्यसैले पनि अनमोल जोडिएको प्रतिक्षित फिल्मको अफिसियल भिडियो कन्टेन्ट नै बाहिर आउँदा यो प्रकारको प्रचारलाई सस्तो लोकप्रियताको लागि अपनाइएको सस्तो माध्यमका रुपमा कतिपयले विश्लेषण गरेका छन् ।

अर्को तर्फ निर्माण टिमले उत्कृष्ट पाँच जोडीलाई अनमोलसँग फिल्म हेर्नेगरी प्रिमियरमा टिकट उपलब्ध गराउने उक्त पोस्टमा उल्लेख गरेको छ । तर अभिनेता भुवन केसी निर्माता रहँदै आएका पछिल्ला फिल्मको प्रिमियर भने हुँदै आएको छैन त्यसैले पनि ‘कृ’को प्रिमियर हुनेमा अनि हुँदै गर्दा पनि ‘टप फाइभ’मा छानिएका जोडीले अनमोलसँग फिल्म हेर्न पाउने मै शंका छ ।

Comments