लालबाबुले हेरे ‘राज्जा रानी’ : यस्तो छ प्रिमियर प्रतिक्रिया (भिडियो)
आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘राज्जा रानी’को बुधबार राजधानीमा प्रिमियर गरिएको छ । फिल्म निर्माण टिम, राजनितिज्ञ, मिडियाकर्मी तथा फिल्मकर्मीको माझ सम्पन्न प्रिमियरमा मुख्य केन्द्र अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन रहे ।
कार्यक्रममा पुर्व मन्त्री तथा नव निर्वाचित प्रतिनिधीसभा सदस्य लालबाबु पण्डितले पनि धेरैको नजर ताने । सामान्य प्रशासन मन्त्री रहँदा अनेक काम गर्दै हिरो बनेका मन्त्री पण्डित केहि हप्ता पहिले यहि फिल्मको प्रचारात्मक कार्यक्रममा अभिनेत्री केकीलाई हजारको नोटमा अटोग्राफ दिँदै गर्दा विवादमा मुछिएका थिए ।
फिल्म हेरिसकेपछि पुर्व मन्त्री पण्डितले तराइ भेगको यथार्थ कथा ‘राज्जा रानी’मा चित्रण गरिएको भन्दै अहिलेको समयसम्म पनि विद्धमान दाइजो प्रथालाई अन्त्य गर्नको लागी आफ्नो तर्फबाट भर मग्दुर प्रयास गर्ने बताए । फिल्मको कथा तथा प्रस्तुतीले मन छोएको बताएका पण्डितले अभिनेत्री केकीको कामलाई तारिफ गरे । नेपाली फिल्म क्षेत्रको स्तरवृद्धी तथा विकास र विस्तारको लागी भोलीको दिनमा खास योजना सहित आउने उनको कथन थियो ।
छोरी मान्छेमाथी हुने हिंसा सहितको सामाजिक विकृति र विसंगतिलाई विषय उठान गरेको फिल्मको प्रस्तुती मन परेको लालबाबुले बताए। अपराधको भरमा गरिने राजनीतिलई समेत उदाङ्गो पारेको फिल्मले मन जितेको उनको ध्येय थियो ।
प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो भनेका छन् । फिल्ममा उठान गरिएको विषयवस्तुलाई धेरैले तारिफ गरे । तराइ भेगको यथार्थ कथालाई पर्दामा ल्याएकोमा प्रशंसा बटुलेका निर्देशक यम थापाले हिजोका दिनसम्म मनमा रहेको ‘नर्भसनेस’ आजबाट उत्साहमा परिणत भएको बताए ।
लिड कलाकार द्वय केकी र नाजिरले फिल्मको लागी सत प्रतिशत मेहनत खर्चेको र दर्शकको लागी पुरा मनोरञ्जनको खुराक ‘राज्जारानी’ बनेको भन्दै साथ र सद्भावको अपिल गरे । निर्माता एमके पौडेल भने अमेरिका रहेको कारण प्रिमियरमा उपस्थित भएनन् । अर्का अभिनेता कामेश्वर चौरासियाले पनि दर्शकको मन छुने काम फिल्ममा पस्केका छन् ।