‘चङ्गाचेट’मा आयुष्मान अनुबन्ध, पुनः एकसाथ ऋचा र अर्पण
‘चपली हाइट २’ डेब्यू ब्वाई आयुष्मान देशराज जोशीले करियरको चौथो फिल्मको रुपमा ‘चङ्गाचेट’ गर्ने भएका छन् । निर्देशक दिपेन्द्र के खनालले आयुष्मान आफ्नो फिल्म खेल्न तयार भएको पुष्टि गरे । स्कृप्ट मन पराएर ओके भनेका आयुष्मानसँग लिखित सम्झौता भने बिहिबार हुनेछ । खनालकै एक्सन कट मा आयुष्मानले नेपाली फिल्ममा डेब्यू गरेका थिए ।
माधव वाग्लेको निर्माणमा बन्न लागेको फिल्मलाई कमेडी जनरा भनिएको छ । फिल्मले युवा पुस्ताको कथा बोल्ने निर्देशक खनालले बताए । चैत्र १ गतेबाट फ्लोरमा जाने फिल्मलाई अर्को बर्षको श्रावण, भदौमा रिलिजको लक्ष्य निर्माण टिमले लिएको छ । निरज कंडेलले फिल्म खिच्नेछन् ।
‘चङ्गाचेट’मा आयुष्मानसँगै ऋचा शर्मा, अर्पण थापा, रविन्द्र झा पनि लिड कलाकारमा फाइनल भएका छन् । पछिल्लो समय धेरै फिल्ममा एकसाथ देखिँदै आएको ऋचा र अर्पणको जोडी यो पटक पनि सँगसँगै देखिने पक्का भएको छ । निर्देशक खनालले अझै केहि लिड कलाकार फाइनल हुन बाँकी रहेको बताए ।
अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहने फिल्मलाई काठमाडौं, जनकपुर र पोखरामा खिच्ने निर्माण टिमले बताएको छ । यसअघि यो प्रोजेक्टको लागी नै निर्देशक खनाल महंगो पारिश्रमिकमा अनुबन्ध भएको चर्चा चलेको थियो ।
तश्विरः गुगल